काठमाण्डाै : अस्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्व कप क्रिकेटको ट्रफी बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शन गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) काे समन्वयमा विश्व कप ट्रफी विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरमा राखिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी पनि सहभागी थिए । स्थानीयवासीले बाजागाजासहित ट्रफीकाे स्वागत गरे ।
ट्रफी भ्रमणमा नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी मेहबुब आलम, शरद भेषवाकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् । यस्तै पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दास पनि भ्रमणमा सहभागी छन् ।
विश्व कप क्रिकेटको ट्रफी सोमवार नेपाल आइपुगेको थियो । क्रिकेट विश्व कप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो । यसअघि २०१८ मा एकदिवसीय विश्व कपको ट्रफी नेपालमा ल्याइएको थियो । इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्व कपको ट्रफी नेपालको काठमाण्डाै र पोखरा पुर्याइएको थियो । युवालाई क्रिकेटमा प्रोत्साहन गर्ने लक्ष्यसहित ट्रफी नेपाल ल्याइएको क्यानले जनाएको छ । क्रिकेट प्रवर्द्धनकाे लक्ष्यसहित विभिन्न देशमा ट्रफी भ्रमण गराउने आईसीसीकाे निर्णयसँगै नेपालमा पनि ल्याइएकाे हो ।
ट्रफी विश्वको १३ देशकाे ३५ ठाउँमा प्रदर्शनी गरिँदैछ । निसान कम्पनीले ट्रफी विश्वभर प्रदर्शन गरिरहेको हो । टी–२० विश्व कप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुँदैछ । १६ देशको सहभागिता रहने प्रतियोगिता अस्ट्रेलियाका विभिन्न सात सहरमा हुने तालिका छ ।
तपाइँको प्रतिक्रीया