काठमाण्डाै : नेपाली मौलिक खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान सुरु गरिएको छ । नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९० प्रतिशतभन्दा बढी अलैँची विदेशमा निर्यात हुँदै गएपछि स्वदेशमा समेत अलैँचीको प्रयोग गर्न अभियान थालिएको हो ।
नेपाल अलैँची व्यवसायी महासङ्घ, सेफ्स एसोसिएशन अफ नेपाल र ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनको आयोजनामा २० भन्दा बढी नेपाली खानामा अलैँचीको प्रयोग गरिएको छ । मासुका विभिन्न परिकार, विभिन्न अचार र खीरलगायतमा अलैँचीको प्रयोग गरिएको हो । नेपालमा उत्पादित अलैँचीलाई नेपालमा नै प्रयोग बढाउनका लागि अभियान गरिएको सेफ्स एसोसियशन अफ नेपालका अध्यक्ष श्याम लामाले जानकारी दिनुभयो ।
नेपालका सामान्य होटलदेखि पाँचतारे होटलसम्म यसको प्रयोग बढाउनुपर्ने उहाँको भनाइ छ । विदेशबाट आयात हुने सुकुमेलभन्दा स्वदेशमा उत्पादन हुने अलैँची प्रयोगलाई जोड दिनुपर्ने अध्यक्ष लामाले बताउनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का पाक प्रशिक्षक मोहन गजुरेलले सीटीईभीटीले नेपाली खानाको पाठ्यक्रम नै तयार गरेर अगाडि बढाएको बताउनुभयो ।
होमस्टे व्यवस्थापनको पाठ्यक्रमसमेत सीटीईभीटीले निर्माण गरेको उहाँको भनाइ छ । वरिष्ठ सेफ शीतल खनालले नेपाली खानाको प्रवर्द्धनमा नेपाली सेफहरुले काम गर्दै आइरहेको बताउनुभयो । स्वदेशमा उत्पादित अलैँचीलाई स्वदेशमै प्रयोग गर्न यो अभियानले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
तपाइँको प्रतिक्रीया