२०८२ असार २ सोमबार

राशिफल

चुनावको मुखैमा आफन्त र कार्यकर्तालाई भर्ती गर्न पटक–पटक सूचना प्रकाशन

काठमाडौं : वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले चुनावको मुखैमा आफन्त, आसेपासे र कार्यकर्तालाई भर्ती गर्नका लागि पटक–पटक सूचना निकालेर कर्मचारी माग गरेको छ । मन्त्रालयले ठूलो संख्यामा कर्मचारी राख्नुपरेमा  प्रदेश लोकसेवा आयोगमार्फत पदपूर्ति गर्नुपर्ने भए पनि आफूखुसी दरबन्दी सिर्जना गरेर पटक-पटक ७ सय १८ जना कर्मचारी माग गरिएको हो ।

वाग्मती प्रदेश र यस प्रदेशका १ सय १९ वटा पालिकामा आवश्यक संख्यामा कर्मचारी भर्ना गर्नकै लागि भनेर प्रदेश लाेकसेवा आयोगको गठन भएको हो । तर, लोकसेवा आयोगलाई थाहै नदिइकन करारमा अन्तर्वार्ता मात्रैको माध्यमले सात सय भन्दा धेरै कर्मचारी भर्ना गर्ने प्रक्रिया चलिरहेको छ ।

मन्त्रालयले यति धेरै कर्मचारी माग गरेको आफूहरुलाई जानकारी नभएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशका अरु मन्त्रालयहरुले पनि चुनावको मुखमा करारमा कर्मचारी भर्ना गर्ने तयारी गरिरहेका छन् । मन्त्रालयहरु कर्मचारी माग गरेर पठाउने बित्तिकै आफूहरुले स्थायी दरबन्दीबाट माग गर्ने भए पनि त्यसो नगरिएको उहाँले बताउनुभयो । मन्त्रालय र पालिका तहलाई आवश्यक कर्मचारी प्रदेश लाेकसेवा आयोगले सूचना प्रकाशन गरेर माग गर्ने गरिएको श्रेष्ठले बताउनुभयो ।

मन्त्रालयले चालु आर्थिक वर्षको साउन यता केही प्राविधिक डाक्टरलाई अन्तर्वार्ता लिएर नियुक्तिपत्र दिन सुरु गरिसकेको छ । केही अन्तर्वार्ताको चरणमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले पहिलो पटक ६ सय ८ जना विभिन्न पदमा कर्मचारी माग गरेर भर्ना गर्ने चरणमा छ । मन्त्रालयमा अन्तर्वार्ता दिन आउनेहरुको त्यतिकै भिड पनि छ । मन्त्रालयले कार्यालय सहयोगीदेखि नवाैँ तह सम्मका कर्मचारी भर्ना गर्नका लागि पत्रिकामा सूचना प्रकाशन गरेर माग गरिएको थियो । ६ सय ८ जना कर्मचारी माग गर्दै बितेको साउन २७ गतेको पत्रिकामा विज्ञापन समेत प्रकाशन गरिएको थियो । त्यही माग गरिएका कर्मचारीलाई अहिले भर्ना गर्ने, अन्तर्वार्ता लिने काम चलिरहेको छ । चुनावपछि अर्कै मन्त्री फेरिने भएपछि अहिले नै धेरै संख्यामा कर्मचारी भर्ना गरेर निस्कने मुडमा मन्त्री निमा लामा र सचिव बद्रिबहादुर खड्का रहेको मन्त्रालयका एक कर्मचारी बताउँछन् ।

यसैगरी मन्त्रालय मात्रैले माग गरेर नपुगेर फेरि मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय हेटौंडाद्वारा स्वास्थ्य क्षेत्रका १८ जना कर्मचारी माग गरिएको छ । निर्देशनालयले विभिन्न पदमा सेवा करार गर्नेगरी १८ जनालाई पदपूर्ति गर्नका लागि माग गरिएको हो । निर्देशनालयले आफ्नो वेबसाइटमा सूचना प्रकाशन गरेर कर्मचारी माग गरेको हो । एक जना अधिकृत स्तर सातौ, अरु पाँचौ र चाैँथो तहका कर्मचारी माग गरिएको छ । धादिङ जिल्लामा अधिकृत व्यावस्थापनका लागि सातौँ तहका कर्मचारी, स्टाफ नर्ष, हेल्थ असिस्टेन्ट, पब्लिक हेल्थ नर्स, अनमी र ल्याब असिस्टेन्ट माग गरिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी स्वास्थ्य निर्देशनालय हेटौंडाद्वारा यही भदौ १३ गते वाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौंडाद्वारा ९२ जना जना कर्मचारीहरु माग गरिएको छ । चालु आर्थिक वर्षमा थप गरिएका विद्यालयमा नर्स राख्नेगरी विज्ञापन प्रकाशित गरेर कर्मचारी राख्न लागिएको हो ।

चालु आर्थिक वर्षका लागि विद्यालय नर्स राख्नका लागि यही भदौ १४ गते १५ दिन भित्रमा योग्यता पुगेका नागरिकले आवेदन दिनका लागि आग्रह गरिएको छ । मन्त्रालयको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत कर्मचारी राख्न लागिएको स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ । निर्देशनालयले विभिन्न जिल्लाका पालिका तह र विद्यालयको नाम समेत खुलाएर विद्यालय नर्स माग गरेको हाे ।