२०८२ असार १६ सोमबार

राशिफल

बीमा कम्पनीहरू खेतबारीसम्म पुग्नुपर्छ : अर्थमन्त्री शर्मा

Finance Minister Janardan Sharma Speaks at the meeting of National Assembly at Federal Parliament building in New Baneshwor, Kathmandu, on Thursday, May 19, 2022. Photo: NA Youtube live screenshot

काठमाडौं :अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्‍याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । आज बिहीवार सुर्खेतमा रहेको बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उहाँले कर्णालीका धेरैजसो नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभएको हो  ।

अर्थमन्त्री शर्माले बीमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बीमा सेवा सहर–बजारमा सीमित नभइ गाउँ–गाउँसम्म पुग्नुपर्ने बताउनुभयो । बीमा सेवा समग्र आर्थिक क्रियाकलापसँग जोडिएकाले विश्वसनीय वातावरणका साथ गाउँ–गाउँमा पुग्नुपर्ने उहाँको भनाइ थियो । ‘बीमा सेवा गाउँ–गाउँसम्म पुग्नु सङ्घीयताको एउटा आयाम हो, वित्तीय र बीमा साक्षरताका कार्यक्रम लिएर ग्रामीण भेगका जनतासम्म पुग्न जरुरी छ’, अर्थमन्त्री शर्माले भन्नुभयो, ‘कर्णालीका ११ प्रतिशत नागरिकमात्र बीमाको पहुँचमा छन्, यो धेरै कम हो, किसानका स–साना समूह बनाएर प्रशिक्षण गरौँ ।’

बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बीमितले दाबीअनुसारको भुक्तानी नपाउने गुनासो सुनिने गरेको छ भन्दै उहाँले थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो । ‘सरकारले लघुवित्तमार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्‍याउने लक्ष्य लिएको छ, बीमा कम्पनीहरू पनि त्यहाँसम्म पुग्नुपर्‍यो’ , उहाँले भन्नुभयो, ‘कर्णालीका सबै पालिकामा अनिवार्य पुग्ने गरी कार्यक्रम बनाउनुस् ।’

बीमा समितिले बीमा व्यवसायको समग्र नियमन, बीमितहरूको सुरक्षा, बीमा साक्षरता, बीमक बीमितका समस्या समाधान गर्नुपर्ने बताउँदै अर्थमन्त्री शर्माले १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले सरकारले बीमा कलेज स्थापनाको तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले नयाँ विधेयकमा बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बीमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेकाले जनशक्ति व्यवस्थापनका लागि पनि छुट्टै कलेजको आवश्यकता छ, बीमासम्बन्धी पाठ्यक्रम बनाएर सरकारले कलेज स्थापना गर्छ ।’

उद्घाटन कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले बीमा समितिको प्रदेश कार्यालय स्थापनाले कर्णालीका किसान लाभान्वित हुनेमा विश्वास व्यक्त गर्नुभयो । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह (आचार्य) ले गरिब परिवारहरू बीमाको पहुँच बाहिर रहेकाले बीमा समितिले विशेष प्याकेज ल्याउनुपर्ने सुझाव दिनुभयो । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा व्यवसायलाई विविधिकरण गर्दै गरिबी न्यूनीकरणमा टेवा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।