२०८२ असार १६ सोमबार

राशिफल

नयाँ दमकल सञ्चालनमा : प्रमुख शाहबाट विभागलाई हस्तान्तरण

काठमाडौँ : विपद व्यवस्थापन विभागलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय सभा गृहमा नयाँ दमकलको साँचो हस्तान्तरण गरेका छन् । शाहले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् ।

महानगरका पूर्वप्रमुृख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उनले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताए । उपप्रमुख सुनिता डंगोल भन्छिन्, ‘दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकामा समेत लाभ पुग्नेछ ।’

घना बस्ती भएकाले काठमाडौँ आगलागी जस्ता विपदका कोणबाट जोखिममा छ । आगलागीका समयमा क्षति कम गराउन काम गर्नुपर्ने पक्षसँगै अग्नि दुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्छन् , ‘विभागले सचेतनाका कार्यक्रममार्फत घटना हुनै नदिनेतर्फ ध्यान दिएको छ ।’

नयाँ दमकलको इञ्जिन क्षमता २७० एचपी र प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता भएको बताइएको छ । यस्तै दमकलले ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्ने जानकारी प्राप्त भएको छ ।
नयाँवाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने २ वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने ३ वटा गरी ५ वटा दमकल सञ्चालनमा छन् ।

जुद्धबारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख चन्दन श्रेष्ठकाअनुसार नयाँ सडक बारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र २ वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् । त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन् ।

दकमलमा पानी थप्न एउटा पानी ट्याङकर र पानी तानेर फाल्नका लागि ५ वटा पम्प छन् ।