काठमाडौं : रूपन्देहीको सालझण्डीमा रहेको पशुपति माध्यामिक विद्यालयको भौतिक संरचनामा सोही विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र पहुँचवालाले रजाइँ गर्दै आएका छन् । उनीहरुले विद्यालयको जग्गामा निर्माण भएको सटर सस्तो रकममा आफूले भाडामा लिएर व्यापारीसँग मोटो रकम लिएर भाडा लगाएका हुन् ।
विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापाका अनुसार विद्यालयले २०५३ सालदेखि न्यून शुल्कमा जग्गा भाडामा लगाएको थियो । विद्यालयले १०÷१० हात मोहडा भएका ७२ वटा पसल बन्ने जग्गा भाडामा लगाएको थियो । त्यतिबेला एउटा जग्गाको मूल्य भित्री सडकमा १ सय २० र पूर्वपश्चिम राजमार्गतर्फ ४ सय ११ निर्धारण गरिएको थियो ।
०५३ सालदेखि अहिलेसम्म ३६ वर्षको अवधिमा जम्मा एकपटक मात्र भाडा समायोजन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको स्वार्थ र पहुँचवालाको दबाबका कारण भाडा समायोजन हुन नसेकको हो ।
प्रधानाध्यापक थापाका अनुसार ४ वर्षअघि एकपटक मात्र भाडा समायोजन गरिएको हो । त्यसपछिको भाडा भित्री सडकमा १५ सय र राजमार्गमा २ हजार बनाइएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डीमा पर्ने अन्य पसलको भाडा सामान्यतया १५ देखि २५ हजार रुपैयाँ मासिक तिर्नुपर्छ । तर तीन दशकअघि भाडामा लिएको विद्यालयको जग्गामा सामन्य टहरा बनाएका ती ७२ जना पसलेले अन्य ब्यापारीलाई भाडामा लगाएर मासिक १५ देखि २५ हजारसम्म असुले पनि विद्यालयलाई भने न्यून रकम बुझाउने गरेका हुन् ।
यसरी सस्तो भाडा तिरेर पसल चलाउनेमा वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमनाथ घिमिरे समेत छन् । उनले दुई वटा सटर लिएर व्यवसाय गरेका छन् । उनी हाल अस्वस्थ भएपछि भागिरथा घिमिरेलाई कार्यवाहक अध्यक्ष दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भागिरथा घिमिरेले हालसम्म एक पटकमात्र भाडा समायोजन भएको बताइन् । उनले भनिन्, ‘व्यवस्थापन समितिमा मेरो तीन कार्यकालले ९ वर्ष भयो तर भाडा बढेको एक पटकमात्र थाहा पाएकी छु ।’
उनका अनुसार प्रत्येक दुई वर्षमा भाडा समायोजन गर्नुपर्ने भए पनि समितिकै मान्छेले नमानेपछि समायोजन हुन नसकेको हो ।
उक्त विद्यालयकी लेखापाल बसन्ती थापाले पनि हरेक दुई वर्षमा भाडा समायोजन गर्ने कुरा उठ्दै आएको तर आफूले जागिर गरेको १९ वर्षमा एक पटकमात्र भाडा बढेको थाहा पाएको बताइन् ।
विद्यालयको जग्गा सस्तो दरमा ओगटेर तेस्रो पक्षबाट फाइदा असुलिरहेका व्यवस्थापन समितिका पदाधिकारी र पहुँचवालाले नै भाडा समायोजन गर्न नदिएको स्थानीयको भनाइ छ । विद्यालयका प्रधानाध्यापक थापाले सबैको सहमतिमा अब भाडा समायोजनका लागि विद्यालयले पत्र पठाउने तयारी गरेकोे बताए ।
तपाइँको प्रतिक्रीया