२०८२ असार १६ सोमबार

राशिफल

‘अफ सिजन’मा समेत पर्यटक पुगेपछि सोलुखुम्बुका व्यवसायी उत्साहित

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौ हिमालहरुको प्रवेशद्वार मानिने खुम्बुमा यस वर्ष ‘अफ सिजन’मा पनि पर्यटक पुगेका छन् ।

सगरमाथा क्षेत्रमा सिजनमा पर्यटकले भरिभराउ हुने र ‘अफ सिजन’मा प्राय सुनसान हुने गर्दछ । तर यसपालि अफ सिजनमा पनि पर्यटक  नियमित हुँदा व्यवसायीहरु उत्साहित भएका छन् । खुम्बुमा वर्षको दुई सिजन बैशाख, जेठ, असार र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने यस क्षेत्रमा यो वर्ष भने सिजन सकिएपछि पनि पर्यटक आवागमन नरोकिदा लुक्लामा हवाई उडान समेत बाक्लिएको छ ।

पर्यटक संख्या बढेसँगै उनीहरुको प्रवेश तथा जाँच गर्नमा निकुञ्जका कर्मचारीहरुमा व्यस्तता बढेको निकुञ्जका निमित्त प्रमुख विष्णु रोकायले बताउनुभयो । ‘अघिल्लो वर्षतिर त यतिखेर पर्यटक आगमन ठप्प नै हुन्थ्यो, हाम्रा निकुञ्जका कर्मचारीहरु पनि फु्र्सदिला हुन्थे, तर यो वर्ष त ‘अफ सिजन’ मा पर्यटक आवागमन बढेसँगै चेकपोष्टका हाम्रा साथीहरुमा पनि व्यस्त हुनुहुन्छ’,- उहाँले भन्नुभयोे ।

अघिल्लो वर्ष ‘अफ सिजन’मा बन्द हुने होटल पनि अहिले खुला छ, पर्यटकको चाप अझ बढ्दै छ । ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने पर्यटकहरुबाट सगरमाथा राष्ट्रिय निकुञ्जले ३२ लाख ७० हजार १०० रुपैयाँ राजस्व संकलन गरेको छ । गएको असारदेखि भदौ १५ सम्म १ हजार २ सय ९९ विदेशी र १ सय ७६ नेपाली पर्यटक प्रवेश शुल्कबाट राजस्व संकलन भएको हो ।