काठमाण्डाै : पाँच ओटा जिल्ला (ताप्लेजुङ्ग, रसुवा, नुवाकोट, मुस्ताङ्ग र हुम्ला)बाहेक देशैभर डेङ्गी फैलिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार देशका ७७ मध्ये ७२ जिल्लामा डेङ्गी सङक्रमित फेला परेका छन् ।
प्रदेशगत रुपमा प्रदेश एकका १४ मध्ये ताप्लेजुङ्गबाहेक अरु १३ जिल्लामा, वाग्मतीका १३ जिल्लामध्ये रसुवा र नुवाकोटबाहेक अरु ११ जिल्लामा, गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक १० जिल्लामा र कर्णालीका १० मध्ये हुम्लाबाहेक ९ वटा जिल्लामा सङक्रमित भेटिएका छन् । मधेस प्रदेशका आठ वटै जिल्ला, लुम्बिनीका १२ वटै जिल्ला र सुदूरपश्चिमका ९ वटै जिल्लामा डेङ्गीका बिरामी फेला परेका महाशाखाको विवरण छ ।
७२ जिल्लामध्ये सङक्रमित धेरै भएका १० वटा जिल्लामा क्रमशः ललितपुर, काठमाण्डौ, रुपन्देही, भक्तपुर, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची रहेका छन् । नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गीको सङ्क्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको थियो । त्यसपछि सन् २००६ यता बर्सेनि सङक्रमण देखिने गरेको छ । यसवर्ष गएको पुसयता अहिलेसम्म ३ हजार २ सय २७ जनामा डेङ्गी पुष्टि भएको छ । अहिले सङ्क्रमण दैनिक रुपमा बढ्न थालेको र अबका दुई महिना असोज र कात्तिकसम्म नै देखिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताउनुभयो ।
अहिले डेङ्गी नदेखिएका ५ जिल्लामा पनि सङ्क्रमित हुन सक्ने तर गम्भीर अवस्थामा अस्पताल पुग्नु पर्ने अवस्था नरहेको हुँदा तथ्याङकमा नसमेटिएको हुनसक्ने उहाँको भनाइ छ । डेङ्गी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र यो रोग सर्छ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्छ र यसको वृद्धि विकास हुन्छ ।
डेङ्गीका मूख्य लक्षणहरू :
- उच्च ज्वरो आउनु
- जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
- आँखाको गेडी दुख्नु
- बेस्सरी टाउको दुख्नु
- शरीरमा राता बिमिराहरू आउनु
- वाकवाकी लाग्नु वा वान्ता हुनु
डेङ्गीबाट बच्ने उपायहरू :
- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्छ । त्यसमाथि पनि बिहान र बेलुकाको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्न मलम लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
- बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
- पुरै शरीर ढाक्ने लुगा लगाउने ।
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ ।
- काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्नुपर्छ ।
- घर र विद्यालयको अँध्यारा कुना–काप्चा, जस्तैः पर्दा पछाडि, खाटमुनि, शौचालय भित्र, डेस्क र बेन्चमुनि किटनाशक औषधि छर्कने गर्नुपर्छ ।
- कम्तिमा हप्ताको एक पटक कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्नुपर्छ ।
- लामखुट्टेले फुल पार्न सक्ने संभावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।
डेङ्गीका लक्षणहरू देखिएमा के गर्ने ?
- स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
- घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नको लागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधिको सेवन नगर्ने ।
- अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
- डाक्टरको सल्लाह नलिइकन कुनै पनि औषधि नखाने । _ujyallo.com
तपाइँको प्रतिक्रीया