काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो ।
‘लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी दर्ता भएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरीका एक उच्च अधिकारीले भने ।
तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । आफूले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।
नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।
तपाइँको प्रतिक्रीया