काठमाडौं : प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेंगुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बुधबार सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेंगुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरे ।
सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेंगु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै तराईमा विपन्नलाई निःशुल्क झुलको व्यवस्था गर्न आग्रह गरे । सांसद तेजुलाल चौधरीले शिक्षालाई सरकारले ध्यान दिन नसक्दा १२ कक्षामा ४१ प्रतिशत मात्र नतिजा आएको उल्लेख गर्दै सबैको तलब बढ्दा विद्यालयका कर्मचारीको तलब पनि बढ्नुपर्ने माग गरे । सांसद नरमाया ढकाल र सांसद पार्वता डिसी चौधरीले थारु समुदायका होनाहार युवालाई थुनामा राखेर निर्वाचनमा जानु सही नभएको धारणा राखे ।
सांसद पुष्पकुमारी कर्णले सांसदले समसामयिक विषयमा शून्य समय र विशेष समयमा उठेका विषयको पाँच दिनभित्र सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने तर त्यो हुन नसकेकोप्रति दुःख व्यक्त गरे । सांसद प्रमिला राईले समावेशी र समानुपातिकाको प्रावधान भए पनि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा महिलाको नाम सिफारिस भएको नदेखिएकोप्रति दुःख व्यक्त गर्दै प्रत्यक्ष तथा समानुपातिकमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थालाई नकार्न नमिल्ने बताइन् ।
तपाइँको प्रतिक्रीया