२०८२ असार १२ बिहीबार

राशिफल

चाकडीले नेतृत्वकाे रक्षा हुँदैन, म त प्रचण्ड कमरेडको आलोचक हुँ : शर्मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी सङ्गठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आज बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० ले काठमाण्डौमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्रीसमेत रहनुभएका शर्माले यस्तो बताउनुभएको हो । उहाँले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताउनुभयो । सङ्गठन विधि र पद्धतिमा चल्नुपर्ने उहाँको भनाइ छ ।

पार्टीमा एकले अर्काको विरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृत्ति रहेको भन्दै उहाँले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्ने काम विद्यार्थी सङ्गठनको अध्यक्षले गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थी सङ्गठनमा अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने कुरा खराब हो, त्यसको आलोचना गरौँ । त्यो कुरा मान्य हुँदैन । सङ्गठन सुदृढ गरेर जानुपर्छ भन्ने मेरो भनाइ छ । पद र शक्तिको होडमा आज कुरा गर्ने होइन, एजेन्डाको आधारमा कुरा गर्ने हो । त्यस कारण मैले विद्यार्थी सङ्गठनमा देखिएको समस्यालाई हल गर्नका लागि विद्यार्थी साथीहरूलाई गलत कुराको आलोचना गर्ने, सही कुराको समर्थन गर्ने हिम्मत गर्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।’

अर्थमन्त्री शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरे पनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीति र नेतृत्वको रक्षा गर्नुपर्छ तर त्यसको अर्थ नेतृत्वको कमजोरीको आलोचना नगर्ने होइन । आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ । आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ । चाकडीले रक्षा हुँदैन । लाइनले रक्षा हुँदैन ।’