२०८२ असार १२ बिहीबार

राशिफल

कांग्रेसकाे बारेमा ‘रामराम’ भन्ने अवस्थामा आइसक्याे : यादव

काठमाण्डाै : पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।

आज बिहीवार काठमाण्डाैमा भएको वीपी साहित्य सम्मान एवम् वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै यादवले यस्ताे चिन्ता प्रकट गर्नुभएको हो । उहाँले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुबाहेक अरू नरहेको उल्लेख गर्नुभयो । पार्टीका नेता र कार्यकर्तालाई वीपीका राजनीतिक चिन्तन अध्ययन गर्ने फुर्सद नभएकाे भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने क्रम चलेकाे उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘वीपीको जेल डायरी, वीपीको आत्मवृतान्त, वीपीले बोलेका कुराका बारेमा पढ्न कांग्रेसीलाई फुर्सद छैन । सोझै कांग्रेस छिर्छन् किनकि टिकट किन्नेलाई कांग्रेसी भनेको छ । पैसामा टिकट बेचिरहेको छ । अहिले विधिको बरेमा चर्चा गर्न र आदर्शको बारेमा कुरा गर्नै छोडिसके । वीपी, गणेशमान, किसुनजी, गिरिजाजस्ता नेताहरूकाे नाम सुन्दै गदगद हुन्छ तर अहिले देशको अवस्था कस्तो छ ? वीपीको एक गुण पनि हामीमा छैन । कांग्रेस जनताको बीचमा जान पनि अरू पार्टीसँग मिलेर अंशबन्डा गरिरहेको छ । कांग्रेसको बारेमा रामराम भन्ने बेला भइसकेको छ ।’

पूर्वराष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्याङ्कन बढी हुँदै गइरहेको पनि बताउनुभयो । उहाँले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबन्डा गर्नु लज्जाको विषय भएको उल्लेख गर्नुभयाे ।