काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका अध्यक्ष ऋषि कट्टेलबीच सवाल जवाफ भएको छ । सवाल जवाफका क्रममा प्रचण्ड तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर कट्टेलले पार्टी फुटाइदिएको भन्दै आक्रोश समेत पोखे ।
बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड कट्टेलमाथि खनिएका हुन् । अध्यक्ष दाहालभन्दा अगाडि मन्तव्य राखेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले भने नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गरे ।
अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भएपनि हालसम्म कार्यान्वयन नभएको बताए । कट्टेलले नेकपा (माओवादी केन्द्र) सर्वहारा वर्गको मुक्ति र राष्ट्रिय स्वाधिनताको सम्बन्धमा गलत बाटोतिर गइरहेको टिप्पणी पनि गरे । उनले उत्पीडित वर्ग, समुदायको मुक्ति र राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो स्पष्ट नभएसम्म शहीदप्रति सम्मान नहुने बताए । नेपाली काँग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने उनको भनाई थियो ।
उनले भने, ‘आज तपाईको पार्टी, सुरेशको पार्टी, नेपाली जनक्रान्तिको दिशामा, नेपालको उत्पीडित वर्ग, समुदायको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाको दिशामा कुन ठाउँमा छ ? तपाईहरुले मूल्यांकन गर्नुस् । आफ्ना पाटोहरुलाई ठिक ढंगले मूल्यांकन गरिएन भने शहीद प्रतिको श्रद्धा, श्रद्धा हुँदैन । त्यसकारण म अनुरोध गर्छु, तपाईंहरुको पार्टी तपाई जतिसुकै फुँदा गास्नुस् । अहिले प्रचण्डजीले भन्दा त स्वर्ग पारिदिनु हुन्छ अहिले नै मलाई थाहा छ । तर नेपालको जनक्रान्तिको दिशामा, नेपाली सर्वहारा वर्गको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको दिशामा एउटा गलत बाटोतिर गइरहेको छ । यसलाई सच्याउन म अनुरोध गर्छु । सुरेशको सम्मान जबसम्म नेपालको उत्पीडित वर्ग, समुदायको मुक्ति र देशको राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो क्लियर हुँदैन तबसम्म सम्मान हुँदैन । अब काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ ? त्यसकारण यो बाटोमा अलि गम्भिरतापूर्वक सोच्न म यो बेलामा अनुरोध पनि गर्छु ।’
उनले माओवादी केन्द्र गलत बाटोमा गइरहेको भन्दै सच्चिन आग्रह समेत गरे ।
तपाइँको प्रतिक्रीया