२०८२ जेठ ३२ शनिवार

राशिफल

गाजा वैधानिक भए नेपालमा ५ खर्ब राजस्व संकलन हुने दावी

काठमाडौं : गाजा वैधानिक भएमा वर्षेनी नेपालमा ५ खर्ब राजस्व संकलन हुने दावी गरिएको छ ।

गाजालाई कानूनी मान्यता दिन हुन्छ की हुँदैन भन्ने बहसको विषय बनेकाे छ । तर, कानूनी मान्यता पाए गाजाबाट आर्थिक लाभ लिन सकिन्छ भन्ने पनि प्रमाणित हुँदै गएको छ । त्यसैले गाजा भन्ने बित्तिकै अवैधानिक भनेर तर्सिहाल्नु पर्ने अवस्था छैन्।

गाजा भन्ने बित्तिकै हामी अवैधानिक भन्छौं । तर, गाजालाई खान मात्र प्रयोग गरिंदैन । यसको उपयोगिताबारे थाहा नहुँदा गाजाबाट पर–पर हुनेहरु हामी धेरै छौं । गाजालाई उत्तम औषधिको रुपमा प्रयोग गरिन्छ । यसलाई सही सदुपयोग गर्न जान्यो भने यसको फाईदा धेरै छन् । तर, गाजाबाट लत्ता कपडा उत्पादन गरेर मुलुकलाई आत्मनिर्भर मात्र हैन, अन्य मुलुकमा निकासी गरेर व्यापार विस्तार गर्न सकिन्छ भन्ने कमैलाई थाह छ ।

यही गाजाबाट आकर्षक कपडा र बहुउपयोगी कस्मेटिकका सामग्रीहरु उत्पादन हुँदा रहेछन् । अहिले काठमाडौंको दरबार मार्गमा दावा ग्रीन गोल्डमा गाजाबाट बनेका आकर्षक लत्ता कपडा र कस्मेटिक सामग्रीको सोरुम खोलिएको छ । लामो समयदेखि गाजा सम्बन्धि अध्ययन र ब्यवसाय गर्दै आउनुभएका व्यवसायी पवनराज जोशीले नेपाली उत्पादन नेपालमै लगानी गरेर शुद्ध गाजाबाट बनेका प्रडक्टहरु नेपालमा मात्र हैन विश्व बजारमा समेत पुर्याउन थाल्नु भएको छ ।

झण्डै १२ वर्ष अघिदेखि अन्तर्राष्ट्रिय स्तरमै गाजा सम्बन्धि अध्ययनमा लागेपछि जोशी यो व्यवसायमा लाग्नुभएको हो । नेपालमा गाजा अवैधानिक भएतापनि जोशीले यसरी गाजाबाट मुलुकमै यसरी लत्ता कपडा र घरेलु बहुउपयोगी वस्तु उत्पादन गर्न सकिन्छ भन्ने देखाउनु भएको छ । यसको सही सदुपयोग गर्ने हो भने लत्ता कपडा र कस्मेटिकका सामानहरुको अन्तर्राष्ट्रिय बजार राम्रो हुने देखिन्छ । किन भने यसबाट हुने उत्पादन आकर्षक र शरीरका लागि फाईदाजनक पनि हुने विश्वास पनि गरिएको छ ।

सरकारबाटै गाजाबाट बन्ने उत्पादनहरु बजारमा ल्याउने अनुमति लिएर खोलिएको यो सोरुम नेपालमै पहिलो हो । गाजा वैधानिक भएमा वर्षेनी नेपालमा ५ खर्ब राजस्व संकलन हुने दावी गरिएको छ । यसलाई लागूऔषधको रुपमा मात्र नलिई यसको बहुउपयोगिता चिन्न आवश्यक छ ।

त्यसैले यसलाई वैधानिक मान्यता दिए नेपालले विश्व बजारबाट ठूलो आर्थिक फाईदा लिन सक्ने पनि देखिन्छ ।

शंकर खनाल