२०८२ जेठ २० सोमबार

राशिफल

धेरै मोटो वा धेरै दुब्लो हुनु स्वास्थ्यका लागि हानिकारक छ ?

काठमाडौं : अत्याधिक तौल हुनु वा ज्यादै पातलो हुनु दुवै स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तोमा शरीरको तौललाई सन्तुलनमा राख्न नसके मान्छेको आयु समेत ४ वर्ष सम्म घट्न सक्ने एक नयाँ अनुसन्धानले देखाएको हो । २० लाख मानिसहरुमा गरिएको यस प्रकारको सबैभन्दा ठूलो अध्ययनमा अनुसन्धानकर्ताहरुले ४० वर्षपछि मानिसहरुले आफ्नो तौल सन्तुलित राख्न सकेमा उनीहरुमा रोग लाग्ने सम्भावना अत्यन्तै कम हुने बताएका छन् । तर तौल मापन गर्ने ‘बडी मास इन्डेक्स’, बीएमआइ कम वा बढी भएका मानिसहरुको जीवनआयु भने कम रहने जोखिम देखिएको रिपोर्टले जनाएको छ ।

बिएमआइ निकाल्न शरीरको तौललाई उचाइको स्क्वायरले भाग गर्नुपर्दछ । यस्तोमा स्वस्थ बिएमआइको रेन्ज १८.५ देखि २५ सम्म रहेको बताइएको छ । यही तरिका मार्फत चिकित्सकहरुले कुनैपनि व्यक्तिमा मोटोपना वा अन्य समस्या रहेको बारे सजिलै थाहा पाउन सक्ने हुँदा बिएमआइलाई धेरै उपयोगी मानिने गरिएको छ । ‘ल्यान्सेट डायबिटिज एण्ड इन्डोक्राइनोलोजी’ मा प्रकाशित यस अध्ययनका अनुसार मोटोपना भएका महिला वा पुरुषको औसत आयु स्वस्थ बिएमआइ भएकाहरु भन्दा ४.२ वा ३.५ वर्ष छोटो हुने गर्दछ । तर यसले स्वस्थ समुहमा पर्ने सबैमा रोगको जोखिम सधैँ कम हुन्छ भन्ने चाहिँ नजनाउने विज्ञहरुको भनाइ छ ।

वास्तवमा अध्ययनकर्ताहरुले अधिकांश मृत्युका कारणहरुमा बिएमआइको लेभल असामान्य रहने गरेको पत्ता लगाएका हुन् । जसले ज्यादै धेरै वा कम दुवैलाई जनाउने बताइएको छ । यसरी २१ भन्दा कम बिएमआइ भएकाको तुलनात्मक रुपमा खराब स्वास्थ्यका कारण मृत्यु हुने गरेको पाइएको छ । कतिपय विशेषज्ञहरुले चाहिँ मानिसको औसत आयु हिसाब गर्न बिएमआइ सहि तरिका हो वा होइन भन्नेबारे पनि मूल्याङ्कन गरिरहेका छन् । तर बिएमआइ अधिकांशका लागि सहज र आफ्नो शारीरिक स्थितिबारे थाहा पाउने उपयुक्त तरिका भएको धेरै वैज्ञानिकहरुको दाबी छ । वास्तवमा तौल नियन्त्रणमा राख्दा यसले मधुमेह जस्ता रोगमा प्रभावकारी सुधार ल्याउन सक्ने हुँदा सो सुधारले औसत आयुमा पनि प्रभाव पार्नेमा कुनै शंका गर्न नसकिने विज्ञहरुको भनाइ छ । बीबीसी ।