२०८२ असार १२ बिहीबार

राशिफल

करेन्ट लगाएर माछा मार्ने क्रममा तीन जनाको मृत्यु

काठमाडौं : झापाको तीन स्थानमा माछा मार्न करेन्ट लगाउनेका क्रममा तीन जनाको मृत्यु भएको छ । शनिबार भएका घटनामा बुद्धशान्ति गाउँपालिका–२ मा बस्दै आएका ३२ वर्षीय कमल बराईली, हल्दिबारी गाउँपालिका–५ का ६१ वर्षीय ओम बहादुर थाम्सुहाङ र मेचीनगर–११ धाईजनका ४७ वर्षीय सन्त चौधरीको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार पाँचथरको याङ्बरक गाउँपालिका–६ स्थायी घर भएका बराईलीलाई बुद्धशान्ति–३ स्थित स्थानीय कुलोको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।

उनको सिटी अस्पताल बुधबारेमा सामान्य उपचार गरेर बिएनसि अस्पताल बिर्तामोड लैजानेवितिक्कै मृत्यु भएको जनाइएको छ । हल्दीबारीका थाम्सुहाङलाई भुतेनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

मेचीनगर नगरपालिका–५ स्थित हडिया खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका चौधरीको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।