काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्स सोमबार नेपाल आइपुग्दै छन् । ली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लदा सभामुख अग्नि सापकोटाले स्वागत गर्ने कार्यक्रम छ ।
लीको नेपाल भ्रमणका क्रममा दुई देशबीचका संसदीय तहमा सहकार्य भ्रमण आदान–प्रदान सम्बन्धमा सम्झौता हुने सचिवालयका एक पदाधिकारीले जानकारी दिए । अध्यक्ष ली सोमबार दिउँसो करिब साढे ३ बजे सय जनाको हाराहारीमा उच्चस्तरीय टोलीसहित काठमाडौंमा उत्रन लागेका हुन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वास पात्र मानिन्छन् ।
लीको सुरक्षाको लागि सरकारले विशेष व्यवस्था समेत मिलाएको छ । ली र सभामुख सापकोटाबीच सोमबार ५ बजे भेटवार्ता हुनेछ । ६ बजे उनीहरुबीच सम्झौतामा हस्ताक्षर र साढे सात बजे ली सहितको टोलीलाई सोल्टी होटलमा डिनर दिने कार्यक्रम छ । यसैबीच सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको शोक अवधि सकिएको सरकारले जानकारी दिएको छ । पाँच बजे शोक सकिएपछि साढे ७ बजे डिनर दिन लागिएको हो ।
भ्रमणको दोस्रो दिन मंगलबार बिहान अध्यक्ष लीले नयाँ राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने छन् । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टा–छुट्टै भेट्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री नारायण खड्काले भने मंगलबारै सोल्टी होटलमा भेटवार्ता गर्नेछन् ।
त्यसपछि ली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गर्न बालुवाटार पुग्ने छन् । भ्रमणका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेर बिहीबार स्वदेश फर्कने छन् ।
तपाइँको प्रतिक्रीया