भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्वीको केन्द्र विन्दु हो । लुम्बिनीलाई केन्द्र बनाएर रुपन्देही जिल्लामा पर्यटकीय गन्तव्यको विकास भएका छन् । बुद्धको जन्मस्थल लुम्बिनीबाहेक रुपन्देही जिल्लामा घुम्न अन्य बौद्ध सम्पदास्थलमा बुद्धमावली देवदह र बुद्ध युगको पुरातात्विकस्थल सैनामैना पर्छन् ।
रुपन्देहीमा बौद्ध धर्मसँग सम्बन्धित मात्र नभई ऐतिहासिक, सांस्कृतिक र प्राकृतिकस्थल पनि उल्लेख्य रुपमा रहेका छन् । थारु संस्कृति र विरहा गीत, बुटवलको जितगढी किल्ला, सैनामैनाको पर्रोहा धाम, सिद्धबाबा जस्ता धार्मिकस्थल रहेका छन् । प्राकृतिक सम्पदामा गैडहवा ताल, गजेडी ताल, दानो खोला, तेलार खोला लगायतका सुन्दर सिमसार क्षेत्र रुपन्देहीमा छन् । नुवाकोट दरवार शिवालिक क्षेत्रमा हल्का हावापानी भएका अन्य रमणीयस्थल पनि छन् । मणिमुकुन्द सेन उद्यानसहित शैक्षिक पार्कहरु रहेका छन् । यति मात्र हैन रुपन्देही तानसेन, पोखरा र मुस्ताङ जस्ता लोकप्रिय हिमाली पर्यटकीय गन्तव्यको प्रवेशद्वारको रूपमा पनि रुपन्देहीलाई मानिन्छ ।
भैरहवा आसपासका छ वटा क्यासिनो सञ्चालनमा रहेका छ । भैरहवामै दुई वटा वाटरपार्कमा गार्मी मौसममा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको लुम्बिनी एम्युजमेन्ट पार्कमा एकैदिन दुई हजार पाँच सय बढीलाई सेवा दिएको छ । भैरहवाकै होटल बोधी रेडसनमा रहेको वाटर पार्कले पनि भारतीयलाई लोभ्याउने गरेको छ । लुम्बिनी विकास कोषका सूचना शाखाको तथ्याङ्कअनुसार लुम्बिनीमा अगस्त महिनामा ११ हजार तीन सय ४२ जनाले मायादेवी मन्दिर अवलोकन गरेका छन् । अङ्ग्रेजी वर्षको आठ महिनामा मात्रै लुम्बिनीमा एक लाख १७ हजार सात सय ४८ जनाले अवलोकन गरेको विकास कोषका सूचना अधिकारी हरिध्वज राईले जानकारी दिए ।
निजी क्षेत्र मात्र हैन सरकारीस्तरबाट पनि पर्यटन पूर्वाधारमा लगानी बढाइएको छ । पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माणलगायत कार्यले प्राथमिकता पाइरहेका छन् । पर्यटन डिभिजन कार्यालय रुपन्देहीले आव २०७८/०७९ मा रुपन्देहीमा रु २७ करोड ८९ लाखमा कूल दुई सय १७ पर्यटन पूर्वाधारको योजना बनाएको थियो । निर्वाचन लगायतको कारण रु १६ करोड ६३ लाख बराबरको एक सय ७० योजना मात्र सम्पन्न गर्न सकिएको कार्यालका सूचना अधिकारी विनोद पौडेलले जानकारी दिए । यसमा विशेष गरी यस क्षेत्रका धार्मिक एवं पर्यटकीय पूर्वाधारको विकास गरिएको उनको भनाइ छ ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीले साविक लुम्बिनी अञ्चलका ६ जिल्लामा काम अगाडि बढाएको छ । सूचना अधिकारी पौडेलले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा पनि रुपन्देहीमा मात्र रु नौ करोड ८५ लाख बराबरको ७१ योजनालाई अगाडि बढाइँदै छ ।
पर्यटन डिभिजन कार्यालयले रुपन्देहीका महिलवारमा “बहुसास्ंकृतिक” सांस्कृतिक ग्रामको अवधारणा अगाडि बढाएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको मोतीनगरलाई र पश्चिम नवलपरासी सुनवल नगरपालिकाको केरवानीलाई संयुक्त रुपमा अवध सांस्कृतिक ग्रामको रुपमा अगाडि बढाइएको पौडेलले जानकारी दिए । पहाडी जिल्ला गुल्मीको रिडी क्षेत्र र रुरु क्षेत्र तथा अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा खस–आर्य सांस्कृतिक ग्राम निर्माणको काम अघि बढेका छन् । पाल्पाको जन्तीलुङ मरामकोटमा मगर सांस्कृतिक ग्रामको अवधारणा अगाडि बढाइएको उनले बताए ।
यसबाहेक बुटवलमा रहेको जिपलाइन, निर्माणाधीन अवस्थामा रहेको केबलकारले पनि पर्यटकलाई आकर्षित गर्नेछ । रुपन्देहीको पर्यटकीय पूर्वाधारमा सरकारी साथै निजी क्षेत्रले गरेको लगानीको कारण कोभिडका कारण थला परेको पर्यटकीय चहलपहल बढाएको छ ।

तपाइँको प्रतिक्रीया