२०८२ असार १ आइतबार

राशिफल

रेड पाण्डाले बच्चा जन्माउने / हुर्काउने समयमा सामुदायिक वनमा प्रवेश निषेध

काठमाडौं : हाब्रे अर्थात् रेड पाण्डाको पोथीले बच्चा जन्माउने र हुर्काउने साउन, भदौ र असोज महिनामा हो । पहाडी तथा हिमाली जिल्लाका लेकाली क्षेत्रहरुमा हुर्कने यो दुर्लभ वन्यजन्तुको आहार मालिङ्गोको टुसा हो । मालिङ्गोको टुसा पलाउने र मुना आउने बेलामा रेड पाण्डाले बच्चा जन्माउने तथा हुर्काउने गर्छ ।

यो दुर्लभ जनावरले शान्ति चाहन्छ र शान्त ठाउँमा बस्ने गर्छ । होहल्लामा रेड पाण्डा विचल्लित हुन्छ र प्रजनन्मा समस्या आउँछ भन्ने अनुसन्धानबाट देखिएको छ । मानव जातीको आसपासमा नै बस्न रुचाउने भए पनि प्रजनन्को बेला समस्या हुने डरले ताप्लेजुङका केही सामुदायिक वनहरूले सार्वजनिक सूचना नै जारी गरेर दुर्लभ मानिने रेड पाण्डा पाइने क्षेत्रका जङ्गलमा प्रवेशमा रोक लगाएको छ । साउनदेखि असोजसम्म जङ्गलमा पस्न र घाँस दाउरा समेत संकलन गर्न नपाउने गरि रोक लगाएको हो । यो जनावरले होहल्ला भएमा बच्चा नहुर्काइ छाडेर हिँड्ने भएकाले वन प्रवेशमा रोक लगाइएको हो ।

पाथीभरा क्षेत्रको देउराली सामुदायिक वनभित्र प्रवेश निषेध गरिएको समुदायिक वन उपभोक्ता समितिले जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष निमाकृपा शेर्पाका अनुसार रेड पाण्डाले बच्चा हुर्काओस् भनेर वनभित्र पस्न रोक लगाएको बताउनुभयो ।

जेठ अन्तिमदेखि साउनभर रेड पाण्डाले बच्चा जन्माउँछ र त्यसपछिका दुई महिना नियमित हेरचाह गरेर हुर्काउँछ । यो अवधिमा कुनै अवरोध नभए बच्चाहरू सहजै हुर्कन्छन् । त्यसैले यो अवधिलाई विशेष महत्वकासाथ हेरिने रेड पाण्डासम्बन्धी काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ ।

रेड पाण्डाल सामान्यतया १ सय ३५ दिनको गर्भाधारण पछि बच्चा जन्माउने गर्दछ । पुसदेखि फागुनसम्म गर्भाधारण गर्छ  । गर्भाधारण गरि सकेपछि ठूलो रूखको प्वाल खोजेर बच्चा जन्माउने र हुर्काउने गरेको संयोजक राईले बताउनुभयो ।

सन् १९८९ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा गरेको अध्ययन अनुसार ८६ प्रतिशत रेड पाण्डाको बच्चा अवस्थामै ज्यान जाने गरेको तथ्याङ्कले देखाएको छ । गाडीको हर्न बजे, घाँस दाउरा गर्दा ठूलो आवाजले कराए, रूखको हाँगा खसाले वा रूख काटेमा रेड पाण्डा त्रसित हुने गर्छ  । र बच्चालाई अर्को ठाउँमा सार्ने गर्दछ ।

यस्तै कुकुरले पनि रेड पाण्डालाई लखेट्ने भएकाले कुकुर नियन्त्रणका लागि बर्सेनि बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले बताउनुभयो  ।

रेड पाण्डा ताप्लेजुङ, पाँचथर र इलामका वनहरूमा धेरै पाइन्छ । विभिन्न समयमा गरिएको सर्वेक्षण अनुसार देशभर यसको सङ्ख्या तीन सयको हाराहारीमा रहेको छ । तर रेड पाण्डाको गणना १० वर्षदेखि हुन सकेको छैन । सन् २०१३ मा रेड पाण्डा नेटवर्कले गरेको गणना अनुसार ताप्लेजुङ जिल्लामा १ सय ३४ देखि १ सय ७७ रेड पाण्डा भएको पत्ता लागेको थियो ।

रेड पाण्डा संरक्षणबारे पढाइँदै

लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रेड पाण्डा संरक्षणका लागि ‘रेड पाण्डा नेटवर्क’ले ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा पठनपाठन भइरहेको छ ।

रेड पाण्डा संरक्षण सम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले यी तीन जिल्लामा संरक्षण गर्न संरक्षण सम्बिन्धी पाठ्यक्रम नै निर्माण गरि पठनपाठन गरिएको बताउनुभयो ।

ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार पारिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

लोपोन्मुख रेड पाण्डाको संरक्षण २०६३ देखि हुन थालेको हो । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा करिब दुई सयको हाराहारीमा रेड पाण्डा रहेको अनुमान गरिएको छ । यो जनावर एक हजार आठ सयदेखि चार हजार आठ सय मिटर उचाइका क्षेत्रमा पाइने गर्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) लरेड पाण्डालाई सन १९९६ देखि सङ्कटापन्न जनावरको सूचीमा राखेको छ ।