काठमाडौं : रिलिज हुनु अघि नै विवादमा परेको फिल्म ‘थ्याङ्क गड’ लाई कुवेत सेन्सर बोर्डले प्रतिबन्ध लगाएको छ ।
भारतीय अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म विवादमा परेको हो । निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेपछि फिल्म विवादमा फसेको हो । कमेडी शैलीको फिल्मको ट्रेलरलाई कतिपयले मन पराएका छन् भने कतिपयले चर्को विरोध समेत गरिरहेका छन् ।
फिल्मलाई भारतमा बहिष्कारको माग गरिरहेको बेला कुवेत सेन्सर बोर्डले समेत सोही फिल्मलाई प्रतिबन्ध लगाएको हो । फिल्ममा भगवानको अपमान गरिएको भन्दै फिल्मलाई प्रतिबन्ध लगाइएको भारतीय सञ्चार माध्यामले जनाएका छन् । योसँगै कुवेतको सेन्सर बोर्डले यसअघि पनि थुप्रै भारतीय फिल्मलाई प्रतिबन्ध लगाएको थियो ।
फिल्मको ट्रेलरमा चित्रगुप्तलाई आधुनिक अवतारमा विभिन्न जोकहरू प्रहार गरेको देखाइएको छ । भारतको उत्तर प्रदेशका एक वकिलले भने फिल्ममा चित्रगुप्ताको खिल्ली उडाएको र गलत प्रस्तुती गरेको भन्दै उजुरी दर्ता गर्न माग गर्दै निवेदन समेत दिएका छन् । फिल्मका निर्माताले धार्मिक भावनामा चोट पुर्याएको वकिलले आरोप लगाएका हुन् ।
इन्द्र कुमारद्वारा निर्देशित यस फिल्ममा अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रित सिंहको मुख्य भूमिका रहेको छ । सोही फिल्म आगामी २४ अक्टोबरमा रिलिज हुने भएको छ ।
तपाइँको प्रतिक्रीया