काठमाडौं : बझाङको खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँकी पुनम सार्की बिरामी पर्नुभएको दुई महिना भयो । भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सञ्चो नभएपछि उहाँको परिवार गएको हप्ता नेपाल फर्कियो ।उनीहरू बझाङको तमैल बजारसम्म गाडीमा आए । तमैलबाट भने ‘स्टेचर’को सहारामा आफन्तले सार्कीलाई घर पुर्याए ।
गएको वर्ष बाढीले तहसनहस बनाएको छान्नामा यसपटक पनि मनसुन सुरु भएलगतै जडारीगाडले सडक बगाएपछि गाडी आवतजावत बन्द भएको छ । छोरा राजु सार्कीले भन्नुभयो, बिरामी बोकेर आएको, त्यसैमाथि बाटोमै पहिरो आएर हामी त निकै आत्तिएका थियौँ । हत्तपत्त पहिरो छल्दै अगाडि बढ्यौँ ।
कान्छो भाइलाई काकासँग छोडेर आयौँ, राजुले भन्नुभयो, डाक्टरले गाउँमै लैजान सुझाव दिएपछि घर आएका हौँ । यता बाटो नै रहेनछ । एकरदुई जनालाई पनि अघिपछि हिँड्नै नसक्ने ठाउँमा स्टेचरमा दुई जना अघि दुई जना पछि गरेर मुस्किलले घर पुगेका छौँ ।
सार्की परिवारलाई मात्रै होइनन्, अहिले छान्नामा जडारीगाड सबैका लागि दुःख बनिरहेको छ । छान्ना प्रवेशदेखि सुरु हुने जडारीगाडले कतै सडक भत्काइएको छ भने कतै गाडले नै आफ्नो बाटो बदलेको छ । छान्नाको करिब १० किलोमिटर जमिनको छेउछाउमा बग्ने जडारीगाडले बर्खायाममा सधैँ दुःख दिने गरेको खप्तड छान्ना–५ का कृष्ण थापा बताउनुभयो । जडारीगाडले हामीलाई हिउँदबाहेक जहिल्यै दुःख दिन्छु, उहाँले भन्नु भयो, ुगएको वर्ष आएको बेमौसमी बाढीपछि त हत्केलामा ज्यान राखेर हिँँड्नुपर्छ । बाटो नै हुँदैन । बनाइएको बाटो पनि हप्ता दिनभन्दा बढी टिक्दैन ।
बाटो सहज नहुँदा बिरामीलाई बोक्नुपर्यो भने त ज्यान नै तलमाथि हुनसक्ने उहाँले बताउनुभयो। गएको वर्ष असोज ३० गतेदेखि कात्तिक ३ गते सम्म आएको बेमौसमी बाढीका कारण छान्नामा करोडौँको भौतिक क्षति भएको थियो भने छ जनाको ज्यानै गएको थियो । मौसम पूर्वानुमान महाशाखाले गएको वर्षको बाढीले गलेको जमिन बग्न सक्ने जनाउँदै सतर्क रहन आग्रह गरेपछि खोला किनाराका बस्ती भने सङ्कटमा परेका छन् ।
खप्तडछान्ना गाउँपालिका–१ का सुरेन्द्र खाती भन्नुहुन्छ, मौसम पूर्वानुमान महाशाखाले पनि गलेको जमिन फेरि बग्ने सङ्केत गरेको छ । अब हाम्रो त कतै जाने ठाउँ पनि छैन । गएको वर्षको बाढीले सर्वस्व लुट्यो । यो वर्ष त झनै के गर्ने भन्ने सोचेका पनि छैनौँ ।
उहाँका अनुसार खातीगाउँमा पानी परेको दिन रातभर स्थानीय बासिन्दा जाग्राम बस्छन् । दिउँसो उनीहरु आँगनमै जडारीगाड हेरेर टोलाउँछन् । अब के गर्ने, कता जाने, के खाने पनि टुङ्गो छैन । गएको वर्षको बाढीले सबै लुट्यो । अहिले रित्तै छौँ, उहाँ भन्नुहुन्छ । खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया भने बाढीपीडितका लागि अहिले बजेट नभएको र अब यसै नयाँ आर्थिक वर्षबाट बाढीपीडितका लागि आवश्यक व्यवस्था गर्ने बताउनुहुन्छ । योभन्दा अगाडि बजेट पनि थिएन । अहिले उहाँहरूका लागि बजेट छुट्याएका छौँ । अब कार्यान्वयन हुन्छ ।
उहाँ विपद् न्यूनीकरणका लागि पनि पूर्ण रुपमा तयारी गरेको बताउनुहुन्छ । गएको हप्ता विपद्सम्बन्धी पूर्वतयारीका लागि बैठक पनि बसेको थियो । त्यसमा सचेत रहन सबैका लागि सूचना पनि जारी गरेका थियौँ । हाम्रो गाउँपालिकामा रहेको डोजर तयारी अवस्थामा राखेका छौँ, उहाँ भन्नुहुन्छ । उहाँले कुनै ठाउँमा घटना घट्यो भने पनि सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुहुन्छ । जडारीगाडले बाटो क्षति पुर्याएका ठाउँमा पनि वैकल्पिक बाटो बनाइएको छ । उहाँका अनुसार घाटखोला, खातीगाउँ, कालुखेतीमा वैकल्पिक बाटो तयार पारिएको छ ।
पहिरोको जोखिम भएको ठाउँमा पनि नजानका लागि नागरिकमा अनुरोध गरेका छौँ, अध्यक्ष खाती भन्नुहुन्छ, गाउँपालिकाभरि आएका पहिरोमा नहिँड्नका लागि पनि सबैलाई आग्रह गरेका छौँ । कुनै घटना घटिहालेमा तत्काल उद्धारका लागि सुरक्षा निकायलाई ‘हाइअलर्ट’मा राखेका छौँ । उहाँले गाउँपालिकामा गर्भवतीको अवस्था हेरेर सरकारी हेलिकप्टरको व्यवस्था गर्ने जानकारी दिनुभयो । असोजमा हुने सुत्केरीको नामावली तयार पार्न स्वास्थ्य संयोजकलाई निर्देशन दिएका छौँ । बच्चा जन्माउन नसक्ने अवस्था भएमा तत्काल हेलिकप्टरमार्फत ‘रेफर’ गर्नेछौँ । यसका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेका छौँ, उहाँले भन्नुभयो ।
रासस
तपाइँको प्रतिक्रीया