२०८२ असार १२ बिहीबार

राशिफल

कर्मचारी समायोजन प्रक्रिया चित्तबुझ्दो छैन भन्ने बुझेको छु : मन्त्री खापुङ

काठमाण्डाै : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले कर्मचारी समायोजनको प्रक्रिया चित्तबुझ्दो नभएको बताउनुभएको छ ।

मङ्गलवार काठमाण्डाैमा भएको नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनमा बोल्दै मन्त्री खापुङले यस्तो बताउनुभएको हो । उहाँले अहिले चिकित्सा क्षेत्रमा भइरहेको स्वास्थ्यकर्मीको परिचालन र उनीहरूलाई दिएको जिम्मेवारी बाँडफाँटमा धेरै असन्तुष्टि आइरहेको बताउनुभएको हो । देश सङ्घीयताको अभ्यासका क्रममा रहेको भन्दै कर्मचारी क्षेत्रको समायोजन प्रक्रियामा धेरैजसाे कर्मचारीले असन्तुष्टि व्यक्त गरिरहेको भन्ने आफ्नो बुझाइ रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको स्वास्थ्य क्षेत्रका चिकित्सकको परिचालन, विभिन्न ठाउँमा जिम्मेवारी बाँडफाँटको कारणले सबैलाई चित्त बुझाइ छैन कि जस्तो मैले बुझेको छु । हामी सङ्घीयताको अभ्यास गरिरहेका छौँ । स्थानीय तह, प्रदेश र केन्द्र गरी तीन तहको सरकार सञ्चालित छ । अभ्यासकै क्रममा हामी कर्मचारी क्षेत्रको पनि समायोजन भएर कोही स्थानीय तह, कोही प्रदेश र कोही सङ्घमा आबद्ध भएका छौँ । यसबाट पनि धेरै स्वास्थ्यकर्मीले यो अलि सही ढङ्गको भएन कि भन्ने गुनासो गरेका छन् भन्ने मेरो बुझाइ छ ।’

मन्त्री खापुङले सङ्घीयतालाई सहज बाटोमा लैजान सबैलाई चित्तबुझ्दो र सबैलाई सम्मान हुने बाटो खोज्नुपर्ने बताउनुभयो । उहाँले तीनै तहको सरकार आफ्नो आफ्नो ठाउँमा जिम्मेवार र अधिकार सम्पन्न भएकोले सङ्घीयतालाई व्यवस्थित गर्न लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बाेल्दै मन्त्री खापुङले हरेक तह र तप्कामा रहेर काम गर्ने मानिसहरू आफ्नो कार्य क्षेत्रमा विज्ञ हुने उल्लेख गर्नुभयो ।