२०८२ जेठ २१ मङ्गलबार

राशिफल

फैजानदेखि लाल मोहम्मद काण्ड : नेपालमा रअ र आईएसआईबीच ‘प्रोक्सी वार’

काठमाडौं : भारतविरुद्ध गतिविधि गरेको अभियोगमा सुनसरीको हरिनगर गाउँपालिकामा खुर्सिद अन्सारी मारिएको चार वर्षपछि फेरि काठमाडौंमा उस्तै आरोपमा अर्का नेपाली नागरिक मारिएका छन् ।

सोमबार साँझ साढे ६ बजे गोली हानी मारिएका लाल मोहम्मदमाथि भारतीय पक्षले आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै आएको थियो । भारतको खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले उनलाई भारतीय जाली नोटको कारोबारमा संलग्न रहेको दाबी गर्ने गरेको थियो ।

यही आरोपमा केही अघि नेपाल प्रहरीलाई मोहम्मदलाई हस्तान्तरण गरिदिन भारतीय अधिकारीहरुले प्रस्ताव गरेको उच्च सुरक्षा स्रोतको दाबी छ । त्यसबेला मुम्बईका अन्डरवर्ल्ड डन दाउद इब्राहिमका सहयोगी इजाज लकडावालालाई  नेपाल प्रहरीले गुपचुप हस्तान्तरण गरेको थियो । नेपाली नागरिक मोहम्मदलाई चाहिँ हस्तान्तरण गर्न इन्कार गरेको थियो ।

मुम्बई प्रहरीको क्राइम ब्रान्चको एन्टी एक्स्टर्सन सेल (एईसी) ले उनलाई नेपालबाट पक्राउ गरेर भारत लगेको थियो । त्यसबेला उनलाई पटना विमानस्थलमा पक्राउ गरिएको भन्दै भारतमा सार्वजनिक गरिएको थियो ।

‘नेपाली नागरिकको हकमा हस्तान्तरण गर्ने भन्ने हुँदैन, तर उनीहरुले चासो देखाएका व्यक्तिप्रति निगरानी गरिरहेका हुन्छौं,’ विशेष ब्यूरोका एक अधिकृत भन्छन्, ‘मोहम्मद पनि तिनैमध्येका एक थिए ।’

स्रोतका अनुसार २५ भदौमा मोहम्मदले आफू असुरक्षित भएको भन्दै प्रहरी बिट जम्मुडाँडामा निवेदन दिएका थिए । प्रहरीका अनुसार त्यसको अघिल्लो दिन उनीमाथि आक्रमण भएको थियो । उपचारका लागि मोहम्मद शंकरापुर अस्पताल पुगेका थिए ।

अस्पतालका निर्देशक डा. रमेश ढकालका अनुसार त्यसबेला मोहम्मद अस्पतालको आउट प्यासेन्ट डिपार्टमेन्ट (ओपीडी) मा उनी भर्ना भएका थिए ।

लाल मोहम्मदलाई उनी बस्ने घर अगाडि कारबाट ओर्लिने वित्तिकै सोमबार साँझ साढे ६ बजे गोली हानिएको थियो ।

‘त्यसबेला ढाडमा खोस्रिएको जस्तो चोट मात्र देखिएको थियो, दुर्घटना भएजस्तो देखिन्थ्यो,’ अस्पतालका अर्का एक चिकित्सक भन्छन्, ‘त्यो गोलीको घाउ थिएन ।’ प्रहरी चाहिँ त्यो गोलीको छर्राका कारण भएको घाउ हुनसक्ने र दोस्रो आक्रमणको प्रयासमा उनी सोमबार मारिएको हुनसक्ने आशंका गर्छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी नायब उपरीक्षक (डीएसपी) का अनुसार मोहम्मदलाई गोली हान्ने व्यक्ति नजिकै रहेको कोशीपारि गेष्ट हाउस एण्ड होटलमा तीन दिनदेखि बसिरहेका थिए । होटल नजिकै रहेको कवाडी पसलका मालिकका साथी बताएर उनी परिचय पत्रसमेत नराखी त्यहाँ बसेका थिए ।

स्रोतका अनुसार जितेन खानको नाममा उनी होटलमा बसेका थिए । अन्य दुईजना व्यक्ति पनि उनलाई नियमित जसो भेट्न आउने गरेको होटलको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा देखिएको छ । सीसी टीभीको हार्डडिस्क प्रहरी वृत्त बौद्धले बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा खान भारतीय नागरिक भएको खुलेको छ । स्रोतका अनुसार मारिनु अघि बौद्ध प्रहरीका अधिकारीहरुले मोहम्मदसँग सोधपुछ पनि गरेका थिए । तर गम्भिर रुपमा लिएका थिएनन् ।

‘पृष्ठभूमिबारे पनि उनले स्पष्ट भनेका थिएनन्, लेनदेनको विवाद छ, धम्की आइरहन्छ मात्र भनेका थिए’, बौद्ध प्रहरीका एक अधिकृत भन्छन्, ‘मारिएपछि मात्र उनको पृष्ठभूमिबारे थाहा पाएका हौं ।’

प्रहरीका अनुसार सोमबार मारिएका मोहम्मदले नेपालमा भारतीय नक्कली नोट कारोबारका नाइके इल्ताफसँग मिलेर २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको हत्या गरेका थिए ।

बलराम नक्कली नोट कारोबारी भए पनि समूहगत द्वन्द्वका कारण उनी मारिएको बताइन्छ । त्यसबेला अनुसन्धानमा खटिएका हालका एक प्रहरी उपरीक्षक (एसपी) भन्छन्, ‘घटनामा लाल मोहमद कन्ट्र्याक्ट किलरका रुपमा प्रयोग गरिएका थिए ।’

प्रहरीका अनुसार उनले विगतमा नेपाल हुँदै भारत जाने नक्कली नोटको कारोबारमा व्यवस्थापकका रुपमा काम गर्ने गरेका थिए । उनी हाल नख्खु कारागारमा रहेका इल्ताफ हुसेनको समूहमा बसेर काम गर्दै आएका थिए ।

पुरानै अभियोगमा नेपालीको श्रृंखलाबद्ध हत्या

भारतको खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले नेपालमा बसेर आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको अभियोग लगाएको व्यक्तिको हत्या भएको यो पहिलो घटना होइन । सुनसरीमा ४ असोज २०७५ मा मारिएका खुर्सिद अन्सारी पनि भारतीय प्रतिआतंकवाद सेलको कारबाहीबाट मारिएको हुनसक्ने आधार देखिएको थियो ।

सुनसरीको रैयाब बोर्डिङ स्कुलका सञ्चालक अन्सारीलाई भारतले आतंकवादीको आरोपमा खोजी गरिरहेको थियो । घटना हुनु दश वर्षअघि उनलाई पक्राउ गर्न भन्दै सादा पोशाकका भारतीय प्रहरी सुनसरीसम्मै पुगेका थिए । तर खुर्सिद जोगिएका थिए ।

त्यतिबेला खुर्सिद सुनसरी जिल्ला विकास समितिका मनोनित सदस्य थिए । वामदेव गौतम गृहमन्त्री भएका बेला पनि उनलाई भारत हस्तान्तरण गर्न भनिएको थियो । तर नेपाली नागरिक भएकाले उनलाई प्रहरीले हस्तान्तरण गरेको थिएन ।

भारतीय सुरक्षा निकायको दाबीमा २०७१ सालमाा भारतको मुस्लिम आतंकवादी संगठन (मुजाहिद्दिन) का चार सदस्यले नेपाली नागरिक र पासपोर्ट लिएका थिए । भारतीय प्रहरीको दाबी अनुसार त्यसरी नागरिक र पासपोर्ट लिनेमा डा. सहनवाज, अबु रसिद, मोहम्मद खनिद र सलमान शेख थिए ।

सुनसरीमा गोली हानेर मारिएपछि खुर्सिद अन्सारी । फाइल तस्वीर ।

भारतका विभिन्न शहरमा भएका बम विष्फोटनमा संलग्न उनीहरुलाई नेपाली नागरिकता र पासपोर्ट बनादिएर सेल्टर दिने काम खुर्सिदले नै गरेको भारतीय पक्षको दाबी थियो ।

लाल मोहम्मद र खुर्सिदकै शैलीमा ८ असोज २०६९ मा इस्लामिक संघका तत्कालीन महासचिव फैजान अहमदको पनि काठमाडौंको घन्टाघरमा गोली हानेर हत्या गरिएको थियो । दिनदहाडै अहमदलाई गोली बर्साएर दुई युवक कमलादीतिर भागेका थिए । उनीहरु भारतको रक्सौलबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए ।

भारतको नखनऊ कारागारमा जेल सजाय भुक्तान गरिरहेका अपराधी बब्लु श्रीवास्तवसँग अहमद हत्याको कनेक्सन देखिएको थियो । श्रीवास्तवकै सुपारीमा उनी मारिएको बताइन्छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘विभिन्न अपराधिक समूह प्रयोग गरेर नेपालमा भारतविरोधी गतिविधि गरेको आरोप लागेका व्यक्ति मारिन्छन्, अहमदको हत्यामा बब्लुको समूह प्रयोग भएको देखिन्छ ।’

अहमदले इस्लामिक संघको महसाचिव भएपछि सुनसरीको भुटाहा, घुस्की र जल्पापुरमा आवासीय मदरसाहरु सञ्चालन गरेका थिए । त्यही मदरसाबाट भारतविरुद्ध गतिविधि भएको भारतीय पक्षको दाबी थियो ।

किडन्यापिङ किङ भनेर समेत चिनिने बब्लु श्रीवास्तवले जेलमा रहँदा ‘अधुरा ख्वाव’ नामक पुस्तक लेखेका थिए ।

अहमदले नक्कली भारतीय नोटको काम पनि गर्ने गरेको भारतीयको दाबी थियो । भारतीय अन्डरवर्ल्डका डन बब्लुले जेलमा बसेका बेला लेखेको पुस्तक ‘बब्लू श्रीवास्तवका अधुरा ख्वाव’मा पनि फैजान अहमदको प्रसंग उल्लेख छ ।

पुस्तकमा इरान, इराक, सिरिया, अफगानिस्तानमा चलेको लडाइँका कारण इस्लामिक मुलुकमा आउने फण्डिङ रोकिएको भन्दै जाली नोट नै कमाइको विकल्प भएको उल्लेख छ । पुस्तकमा फैजान मुलतः पाकिस्तानी भए पनि उनको पहिचान स्पष्ट नभएको भनिएको छ । उनले धर्मको आडमा मदरसा र क्याम्प मार्फत अवैध गतिविधि गर्ने गरेको उल्लेख छ ।

उनी पाकिस्तानको गुप्तचरी निकाय इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) को नेपाल स्टेसन प्रमुख रहेको दाबी बब्लुको पुस्तकमा छ ।

जाली नोट कारोबारमा नेपालका नाइके भनिने युनुस अन्सारीमाथि २६ फागुन २०६७ मा मनमित सिंह नामक पेशेवर अपराधीबाट केन्द्रीय कारागार सुन्धाराभित्रै गोली प्रहार भयो । कुख्यात सिरियल किलर चार्ल्स शोभराजलाई भेट्ने बहानामा कारागार छिरेका सिंहले उनलाई गोली दागे पनि प्रविधिक गडबडीका कारण  पड्किएको थिएन ।

लगत्तै नजिकै रहेका प्रहरीले उनलाई पक्राउ गरेका थिए । नक्कली भारतीय रुपैयाँको कारोबार र खैरो हेरोइनको कारोबारमा संलगन रहेको अभियोगमा उनी १८ पुस २०६६ मा पक्राउ परेका थिए ।

प्रहरी हिरासतमा समेत उनको हत्या प्रयास भएको थियो । नेशनल टेलिभिजनका अध्यक्ष युनुसका बाबु सलिम मियाँ अन्सारीमाथि पनि बेलाबेला नक्कली भारु कारोबारको अभियोग लाग्थ्यो ।

जेलबाट निस्किए पनि युनुसले आफूलाई असुरक्षित महसुस गरिराख्थे । त्यसैले लामो समय जेल बसेर छुटेपछि पुनः १० जेठ २०७६ मा रहस्यमय तरिकाले युनुस पक्राउ परे ।

जानकार स्रोतहरुका अनुसार बाहिर अझै असुरक्षित महसुस भएपछि उनी आफैं पाकिस्तानबाट नक्कली ३५ लाख भारु मगाएर पक्राउ परेका थिए । किनकि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी जस्ता कुख्यात जाली नोट कारोबारी ‘कन्साइनमेन्ट’ लिन जानु आफैंमा अविश्वसनीय थियो ।

विशेष ब्यूरोका एक अधिकृत भन्छन्, ‘लाल मोहम्मदको हत्याले युनुसले आफैं पक्राउ पर्ने बाटो रोजेका हुन् कि भन्ने आशंकालाई बलियो बनाएको छ ।’

‘अन्सारी जस्तो नाइकेले आफैं यति ठूलो परिमाणको नक्कली नोट लिन जानु विश्वासै गर्न नसकिने कुरा थियो,’ एक अनुसन्धान अधिकृत भन्छन् । जाली नोट कारोबारमा युनुसपछिका मानिएका इल्ताफ हुसेन अन्सारीले सुरक्षित हुन थुनामा बस्ने सहज बाटो राजेका थिए ।

सोमबार मारिएका लाल मोहम्मद विगतमा इल्ताफकै लागि काम गर्थे । इल्ताफ २९ साउन २०७७ मा अपत्यारिलो तरिकाले बाराबाट पक्राउ परेका थिए । ‘फेक करेन्सी किङ’ भनेर चिनिने अन्सारी नक्कली १५ किलो सुन बोकेर गाडीमा हिँडेको प्रहरी अनुसन्धानले देखाएको थियो । तर रोचक कुरा नक्कली सुनमा ५७ लाख खर्चेर चाँदीमा जलप लगाइएको थियो ।

उनीजस्तो आपराधिक दुनियाँका खेलाडी नक्कली सुन नै बेच्नुपर्ने अवस्थामा किन पुगे ? नक्कली सुन नै बेच्नुपर्ने भए किन आधा करोड खर्चेर जलप लगाए ?

अरु व्यक्तिमार्फत काम गराउन सक्ने स्थिति हुँदा हुँदै किन आफैं गाडीमा चढे ? प्रहरीले समाते सहजै पत्ता लाग्ने गरी किन आफ्नै गाडी प्रयोग गरे ? यस्ता केही प्रश्नको जवाफ प्रहरीले भेट्टाएको थिएन । तर यिनै प्रश्नहरूले इल्ताफको जेल यात्रा बाहिर देखिएझैँ सामान्य मात्र छैन भन्ने संकेत दिन्थ्यो ।

विशेष ब्यूरोका अधिकृतहरुका विश्लेषण अनुसार यस पछाडिको कारण पनि लाल मोहमद जसरी नै मारिनबाट बच्नु हो । ‘उनले आफूलाई थ्रेट महसुस गरेका कारण पक्राउ पर्ने बाटो रोजेको हुनसक्ने सम्भावना बलियो रहेको देखिन्छ,’ विशेष ब्यूरोका एक अधिकृत भन्छन् ।