काठमाण्डाै : डाक्टर गोविन्द केसी काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसी अनशनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको हो ।
सात बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेको १० औँ दिनमा उहाँ आज बुधवार आफ्नै खर्चमा काठमाण्डाै आउनुभएको हो । अस्पताल भर्ना भए पनि अनशन जारी रहने उहाँका सहयोगी डा. अमृत जैसीले बताउनुभयो ।
सरकारले हिजो मङ्गलवार नै नेपाली सेनाको जहाजमार्फत काठमाण्डाै ल्याउन खोज्दा केसीले अस्वीकार गर्नुभएको थियो । अनशनका क्रममा केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि थप उपचारका लागि काठमाण्डाै ल्याउन सरकारले समेत पहल गरेको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उहाँलाई सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो ।
अस्पतालले डा. केसीकाे शरीरमा पोषण तत्त्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ । त्यस्तै त्यहाँका चिकित्सकले पेटमा कडा खालको अल्सर भएको आशङ्कासमेत गरेका छन् । केसीकाे यो २० औँ अनशन हो ।
तपाइँको प्रतिक्रीया