काठमाडौं : ट्रेकिङ एजेन्सिज एसाेसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्न नहुने बताउनुभएको छ ।
आज सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय पालिकाले सडक बनाउने नाममा ५० वर्ष पुराना पर्वतीय ट्रेकिङ गन्तव्यकाे अस्तित्व मेटाउने काम गरेकाे गुनासाे गर्नुभयाे । अध्यक्ष बास्तोलाले ३१ दिनको पर्वतीय ट्रेकिङ गन्तव्य रहेको अन्नपूर्ण राउन्डलाई सडक बनाउने नाममा भत्काएर अहिले पाँच दिनको बनाइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सडक आवश्यक भयो भन्दैमा विश्वका १० नम्बरमा पर्ने पर्वतीय ट्रेकिङ गन्तव्यहरूको अस्तित्व मेटाउन नमिल्ने बताउनुभयो ।
अध्यक्ष बास्तोलाले पछिल्लो समय धेरै पर्वतीय ट्रेकिङ गन्तव्यहरू हराउने क्रममा रहेको गुनासो गर्नुभयो । उहाँले विश्वमा प्रचार भएर हजारौँ नागरिकलाई रोजगारी दिने पर्वतीय ट्रेकिङ गन्तव्यलाई कायम राखेर वैकल्पिक मार्गबाट सडक बनाउन सल्लाह गर्न आग्रह गर्नुभयो । उहाँले पालिकाले पर्वतीय ट्रेकिङ गन्तव्य भएको ठाउँमा सडक बनाउँदा वा पर्यटन क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्दा टानसँग सल्लाह गर्नु उचित हुने बताउनुभयो ।
रोजगारीको सिर्जनालगायत अन्य प्रचुर सम्भावना रहेको सिन्धुपाल्चोको जुगल हिमालको प्रचारप्रसार गर्न आवश्यक रहेको अध्यक्ष बास्ताेलाकाे भनाइ छ । उहाँले जुगल हिमालमा पर्वतीय गन्तव्यको लागि प्रचारप्रसार गर्न टानले सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको रूपमा मान्यता दिए अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्ने बताउनुभयो । उहाँले पर्वतीय उद्योग जनशक्ति, व्यवस्थापनदेखि आवश्यक पूर्वाधार स्वदेशी भएको र लगानी गर्न अन्य देशसँग सहयोग माग गर्नु नपर्ने उद्योग हुने बताउनुभयो । उहाँले पर्वतीय उद्योग अन्य उद्योगको जस्तो कच्चा पदार्थ बाहिरबाट ल्याएर आधा पैसा विदेशमा पठाउने नभइ विदशीबाट आउने डलरसमेत नेपालमा नै रहने उद्योग भएको बताउनुभयो ।
नेपालमा पर्वतीय पर्यटनको महत्त्व ठूलो रहेको भन्दै सरकारले पर्वतीय पर्यटन क्षेत्रको विकासमा जोड दिनु आवश्यक रहेको उहाँकाे भनाइ छ ।
तपाइँको प्रतिक्रीया