काठमाडौं : सिन्धुलीको सदरमुकाम माडीबजारकोबीचबाट बग्ने ग्वांङखोलाको तटबन्ध बनाउन नसक्दा दर्जनौं सरकारी कार्यालयहरु वर्षायाममा जोखिममा पर्ने सम्भावना रहेको छ ।
खोलाका कारण हजारौं बिघा खेतीयोग्य उर्वरा जमिन बगरमा परिणत भएको भइ सकेको छ । सरकारको तर्फबाट गुरुयोजना तयार गरेर सदरमुकामको मुख्य भागबाट बग्ने यो खोलालाई दीर्घकलीन रुपमा नियन्त्रण गर्न नसक्दा हालसम्म स्थानीय स्तरमा अरबौंको क्षति भइसकेको छ ।
वर्षायाममा सिन्धुलीगढी आसपासको महाभारत पहाडबाट आउने पहिरो तथा परेको पानीको बाढी आउने गर्दा सिन्धुलीमाडी फाँटका खेती योग्य जमिनहरु पुर्ने गरेको छ । वर्षाको समयमा सदरमुकामलाई समेत जलमग्न बनाई सरकारी कार्यालयहरुको सुरक्षा खतरा देखिएको छ । ग्वांङखोलाको आसपासमा निर्माण गरिएका स्थानीय बासीन्दाहरुका बस्ने घर र टहराहरु समेत खोलाका कारण विगत लामो समयदेखि संकटमा पर्दै आएका छन् । विगतका वर्षहरुमा खोलाले धेरै घरहरु बगाएर स्थानीय मानिसहरको लाखौंको धन सम्पतिमा नोक्सानी गरिसकेको छ ।
खोलाले जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित कमलामाई नगरपालिकाको करिब १२ किलो मिटर लम्बाई र करिब १० हेक्टर क्षेत्रफलमा आफ्नो रुप विस्तार गरेको छ । वर्षायाम सुरु हुने बेलादेखि सोही खोलामा आउने बाढी वैशाख महिनादेखि असोज महिनासम्म निरन्तर रहिरहन्छ । विगत २०४१ सालमा सिन्धुलीमा भएको भीषण बाढी पहिरो समयमा ग्वांङखोलाले जिल्ला सदरमुकामका अधिकांश भू–भागहरु डुवाएको थियो । स्थानीय स्तरमा हजारौं बिघा खेतीयोग्य जमिनहरुलाई पहिरोले थिचेको थियो ।
खोलाको किनारमै रहेको जिल्ला सदरमुकामका प्रमुख अड्डाहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत लगायत एक दर्जन भन्दा बढी सरकारी कार्यालयहरुको भविष्य खोलाका कारण असुरक्षित रहेको छ ।
तपाइँको प्रतिक्रीया