२०८२ जेठ २१ मङ्गलबार

राशिफल

यी हुन् काठमाडौंमा सस्तो खाना भरपेट खान पाइने भोजनालय

काठमाडौं : मनकारी पनि छ यो सहर । यस सहरले हुनेखाने मात्र होइन, गरिखानेलाई पनि आश्रय दिएको छ । महंगी र खर्चिलो बजारले यहाँ ढाड थिचेको मात्र छैन, सस्तो मूल्यमा पाइने भरपेट खानाले पेट उकासिदिएको पनि छ ।

सहरमा दैनिक ज्यालादारी गर्नेहरु हुन् वा न्यून आय आर्जन भएकाहरु, उनीहरुले भोकै बस्नुपर्ने बाध्यता भने छैन । यहाँ कतिपय यस्ता भोजनालय छन्, जसले सस्तो मूल्यमा थालभरि खाना पस्किने गरेका छन् ।

दोलखा दिव्य गेस्ट हाउस एण्ड भोजनालय, महाबौद्ध

काठमाडौंको महाबौद्धमा रहेको दोलखा दिव्य गेस्ट हाउस एण्ड भोजनालयमा सोमबार बिहान ११ बज्दा पुग्दा होटलका सबै टेबुल भरिभराउ थिए । होटलमा खाना खाने आउने जाने सर्वसाधारणको भीड थियो ।

होटलमा साहुनीले खाना पस्किरहेकी थिइन् भने सहयोगीले खाना टेबुलसम्म पुर्‍याउने काम गरिरहेका थिए । र, सञ्चालक इन्द्र श्रेष्ठ ढोका बाहिर उभिएर खानाको पैसा लिइरहेका थिए ।

सादा खाना १०० । चिकेन,बफ, माछा, अण्डा खाना १४० । बफ सेकुवा खाना १५० । मटन खाना २२० रुपैयाँ होटलको भित्तामा मेनु टागिएको छ । पहिला मटन खानाको १२० रुपैयाँ भए पनि बजारको महंगीले थेग्न नसक्ने भएपछि उनले २० रुपैयाँ बढाएको बताए । खानाको मूल्य बढेको जम्मा दुई महिना भएको छ ।

श्रेष्ठकहाँ सस्तो खानाका लागि दैनिक ज्याला–मजदुरी गर्ने भारी बोक्ने न्यून आय आर्जन भएका सर्वसाधारण मात्रै आउँदैनन् । विद्यार्थीदेखि मध्यम आय आम्दानी गर्नेहरु पनि आउने गरेका छन् । खाना सस्तो र मीठो भएका कारण खाना खानेको भीड लाग्ने गरेको उनी बताउँछन् ।

‘हामीकहाँ ज्याला–मजदुरी गर्ने, भारी बोकेर गुजारा गर्ने र बिरामी तथा कुरुवाहरु बढी आउने गरेका छन्,’ दोलखा दिव्य गेस्ट हाउसका सञ्चालक श्रेष्ठले भने, ‘सेवा गरेर आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने उद्देश्यले सस्तोमा खाना खुवाउने होटल सञ्चालन गरेको हुँ ।’

श्रेष्ठले दैनिक ३५० देखि ५०० रुपैयाँ सर्वसाधारणलाई खाना खुवाउने गरेको बताए । खाना सस्तो मात्रै मीठो पनि भएका कारण सर्वसाधारणको भीड लाग्ने गरेको उनी बताउँछन् ।

‘सस्तो खानाले मात्रै भीड बढेको होइन । यदि त्यस्तो हो भने पैसा भएको दिन ऊ अन्तै खान जान्थ्यो । तर यहाँ खाना मीठो भएर नै सर्वसाधारण ग्राहकको लाम लाग्ने गरेको हो,’ उनी सुनाउँछन् ।

२०७२ सालको भूकम्पपछि सस्तोमा खाना खुवाउने निर्णय गरेका हुन् श्रेष्ठले । भूकम्पका कारण घरबारबिहीन भएका सर्वसाधारण र काम गरेर खानेहरु भोकै परेको देखेपछि श्रेष्ठको मन पग्लियो । होटल लाइनमा २८ वर्ष काम गरेका उनलाई नयाँ काम गर्न मन लाग्यो । जसकारण सुरु भयो उनको सस्तोमा खाना खुवाउने होटल योजना ।

ए टु जेड भोजनालय एण्ड लज, बत्तीसपुतली

बत्तीसपुतलीमा रहेको ए टु जेड भोजनालयले पनि काठमाडौंका निम्न तथा निम्नमध्यम वर्गका मानिसलाई सस्तोमा खाना खुवाइरहेको छ । दैनिक ज्याला–मजदुरी गरेर गुजारा चलाउनेहरुको यो भोजनालय रोजाइमा पर्छ ।

ए टु जेड भोजनालय एण्ड लजका सञ्चालक कुमार अधिकारी काठमाडौंका न्यून आय आर्जन भएका सर्वसाधारणलाई मध्यनजर गरी सस्तोमा खाना खुवाउन थालिएको बताउँछन् ।

‘सबैले महंगो होटलमा गएर मीठो र मासुभात खान सक्दैनन् । कम पैसा हुनेले पनि सस्तोमा मीठो र मासुभात खान सकुन्,’ अधिकारी भन्छन्, ‘पैसा कम भएर कसैले भोकै बस्नु नपरोस् भनेर सस्तोमा खाना खुवाइरहेको छु ।’

उनी सस्तोमा खाना मात्रै खुवाउँदैनन् । शारीरिक असहाय, अशक्त र ७० वर्षभन्दा बढी उमेरका सर्वसाधारणलाई मात्रै ५० रुपैयाँमा खाना खुवाउँछन् । उनले खाना मात्रै नभई बस्नका लागि समेत व्यवस्था गरेका छन् ।

अधिकारीले भेज खानाको ११०, दही र अम्लेट खानाको १४०, चिकेन–माछा खानाको २०० रुपैयाँ तोकेका छन् ।

‘खानाका लागि १०० रुपैयाँ नभएर भोकले तड्पिएकाहरु देखेको छु,’ उनी भन्छन, ‘पैसा कम भए वा नभएर कसैले भोकै बस्न नपरोस् भनेर होटल चलाएको हुँ ।’ अधिकारीले भूकम्प गएपछि सस्तोमा खाना खुवाउने होटल सञ्चालन गरेका हुन् ।

दैनिक ३०० देखि ३५० जनासम्म खाना खुवाउने गरेको अधिकारी बताउँछन् । बजारमा महंगी बढे पनि सर्वसाधारणको समस्या तथा आम्दानीलाई समेत ध्यानमा राखी खाना खुवाउनु परेको उनी बताउँछन् ।

सुदूरपश्चिम खाना घर, कोटेश्वर

कोटेश्वर चोकबाट बालकुमारी पुलतर्फ जाँदा आकाशेपुलको बाँयापट्टि छ, सुदुरपश्चिम खाना घर । केही समयअघिसम्म निकै सस्तो ९९ रुपैयाँमा चिकेन र माछा खाना खुवाइरहेकोमा होटलले अहिले भने मूल्यसूचीमा केही परिवर्तन गरेको छ ।

‘पहिले ९९ रुपैयाँमा मासु माछा खाना खुवाए पनि अहिले बजार महंगिएका कारण थोरै मूल्यमा परिवर्तन गर्न बाध्य भएका छौं । तै पनि हामी अरु भन्दा निकै सस्तोमा खाना खुवाइरहेका छौं,’ सुदूरपश्चिम खाना घरका सञ्चालक दिनेश सिंह भन्छन् ।

उनले कोरोना महामारी नियन्त्रणका लागि गरिएको पहिलो लकडाउनबाट सस्तोमा खाना खुवाउने गरी होटल सञ्चालन गरेका हुन् । उनी अहिले दैनिक १०० देखि १५० जनासम्मलाई खाना खुवाउँछन् । कोटेश्वर चारैतिरको ‘जक्सन’ भएकाले पनि आफ्नो होटलमा खाना खान आउनेहरु धेरै हुने उनी बताउँछन् ।

खाना घरले अहिले चिकेन, अण्डा र माछा खाना १५० रुपैयाँमा खुवाइरहेको छ । लकडाउनका कारण सर्वसाधारणले पाएको सास्ती र भोकै बस्नु परेका कारण आफूलाई सस्तोमा खाना खुवाउने सोच आएको उनी सुनाउँछन् ।

साम्राज्य स्वीट्स अनामनगर

अनामनगरमा रहेको सम्राज्य स्वीट्समा भेज खाना पाइन्छ । साम्राज्यले १२० रुपैयाँमा खाना खुवाउँदै आइरहेको छ ।

साम्राज्य स्वीट्सकी स्टाफ ज्ञानु बस्नेतका अनुसार न्यून आम्दानी भएका गरिखाने वर्गले सस्तोमा खाना खाने ठाउँ नपाएको गुनासो गरेपछि उनले सस्तोमा खाना खुवाउने काम गर्न थालेकी हुन् ।

साम्राज्यमा दैनिक १५० जना सर्वसाधारणले सस्तोमा खाना खान्छन् । ‘सर्वसाधारणले सस्तोमा खाना खान नपाएर भोकै पर्न थाल्यौं । खानामा कमाएको पैसा सबै सकिन थाल्यो भनेपछि सस्तो खाना खुवाउन थालेका हौं । सकुन्जेल सस्तोमै खाना खुवाउँछौं,’ बस्नेतले भनिन् ।

बस्नेतले यसअघि अनामनगरमै हाम्रो ‘टिम नेपाल’सँग मिलेर ‘हाम्रो खाना घर’मा ६५ रुपैयाँमा खाना खुवाउँदै आइरहेकी थिइन् । पछि टिम नमिलेर ‘हाम्रो खाना घर’ बन्द भएको थियो ।

‘हाम्रो खाना घर’का नियमित ग्राहक ज्याला–मजदुरी गर्नेदेखि कार्यालयमा काम गर्ने कर्मचारीसम्म थिए । ‘हाम्रो खाना घरले खाना खुवाउन छाडेपछि उनीहरुले खाना खान नपाएको गुनासो गर्न थाले । उनीहरुको गुनासो र आग्रहलाई स्वीकार गरेर सस्तोमा खाना खुवाउने खानाघर स्थापना भयो, साम्राज्य स्वीट्स ।

‘ग्राहकलाई सस्तोमा खाना खुवाउन पाउँदा निकै खुसी छौं । सस्तोमा खाना पाउँदा सर्वसाधारणको थोरै भए पनि पैसा बच्छ भने हामीलाई सन्तुष्टि मिल्छ,’ बस्नेत सुनाउँछिन् ।

हाम्रो खाना घरमा छँदा टिम नेपालले ६५ मा खाना खुवाइरहेको थियो । बजारमा खाद्य पदार्थको मूल्य बढेपछि ८०, १०० र १२० कायम गरिएको थियो । बस्नेतले पहिले गरिरहेको कामलाई साम्राज्य स्वीट्सले निरन्तरता दिइरहेको बताइन् ।

पाटन लोकहित तन्दुरी भोजनालय, पाटनढोका

पाटनढोकामा रहेको पाटन लोकहित तन्दुरी भोजनालयमा तन्दुरी र नान पाइन्छ । लोकहितका सञ्चालक राजेन्द्र घतानीका अनुसार ग्राहकले १२० देखि १५० रुपैयाँमा पेटभरि रोटी तथा नान खान सक्ने बताए ।

लोकहितमा रोटी र नानका साथ आलु, केराउ, मटर, पनिर आलु तरकारी पाइन्छ । घतानीका अनुसार उनले दैनिक १०० सय बढी सर्वसाधारणलाई खाना खुवाउने गरेका छन् ।

उनी भन्छन्, ‘काठमाडौंका काम गरेर खाने सर्वसाधारणलाई ध्यानमा राखेर सस्तो खाना खुवाइरहेका छौं,’ उनी भन्छन्, ‘सस्तो खानाले सर्वसाधारणलाई केही फाइदा पुगेको छ । हाम्रो प्रयास सकेसम्म सस्तोमै खाना खुवाउने रहन्छ ।’

onlinekhabar