अबका तीन दिन नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान छ ।
अहिले चितवनको माडी क्षेत्रका गोविन्दबस्ती, ठोरी, बनकट्टाआसपास अति ठूलो पानी परेको छ । पछिल्लो तीन घण्टामा भारी वर्षा भएको र रिउखोला तथा साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले तटिय क्षेत्र र डुबान हुने होचा ठाउँमा आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । मकवानपुरगढी, हेटौंडा र आसपास थप वर्षा हुने देखिएको छ । मकवानपुरका तटीय क्षेत्रहरूमा पनि बेलुकासम्म नै सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
बबई तथा पश्चिम राप्ती नदीमा आज जलस्तर खतराको तहमाथि पुगेको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभएको छ ।
त्यस्तै नारायणी नदीले देवघाटमा आज बिहान सतर्कता पार गरेको छ । जलसतह थप बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुकासम्म नै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरुमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
तपाइँको प्रतिक्रीया