काठमाडौं : यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा यो पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ज्ञवालीलाई प्रदान गर्नुभएको हो । त्यस्तै प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतलाई प्रदान गरिएको छ।
गएको वर्ष प्रतिष्ठानले नयाँ पुरस्कारको रूपमा पुरस्कार घोषणा गरेको थियो । समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ । लाखौँ मानिसलाई आँखाको ज्योति प्रदान गर्नुहुने नेत्र चिकित्सक डा रुइतलाई यो पुरस्कार अध्यक्ष लामिछानेले प्रदान गर्नुभयो ।
यस वर्षको पद्मश्री साधना सम्मान ३० को दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुहुने कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ । उहाँका सातवटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथा सङ्ग्रह प्रकाशित छन् ।
समाजिक यथार्थवादी कथा लेखेर नेपाली कथा साहित्यलाई समृद्ध बनाउनुभएकी कथाकार ठकुरीलाई अध्यक्ष लामिछानेले सम्मान प्रदान गर्नुभएको छ । तीनै पुरस्कार राशि जनही तीन लाख रुपैयाँ रहेको छ।
तपाइँको प्रतिक्रीया