काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ ।
पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् ।
यस्तै वाग्मतीका दिनेश गोसाइँले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदक प्राप्त गर्नु भएको छ । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छनोट गरिएको थियो ।
प्रि–जजबाट गण्डकीका विवेक हमाल, वाग्मतीका दिनेश गोसाइँ, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो छनोट भएका थिए ।
५५ किलो तौल समूहमा उनीहरुसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदुरपश्चिम प्रदेशका सुनिल राईका प्रतिस्पर्धा गरेका थिए ।
त्यसपछि भएको ६० किलोग्राम तौल समूहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जितेका छन् ।
आइतवार नै ६५, ७० र ७५ किलोग्राम तौल समूहको प्रि–जज र फाइनल हुने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समूहको फाइनल हुनेछ । भने, दोस्रो दिन अन्य विधाका खेल हुनेछन् ।
उनका अनुसार प्रदेश १, मधेश, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् ।
उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स एक सय ७० सेमी र एक सय ७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् ।
महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
तपाइँको प्रतिक्रीया