२०८२ असार ४ बुधबार

राशिफल

म राम्रो र अरू नराम्रो भनि प्रचार गर्न पाइँदैन : आयुक्त भण्डारी

काठमाण्डाै : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले आचारसंहिता विपरीत चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न सचेत गराएको हो ।

आज आइतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आचारसंहिता कन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार चुनाव हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कात्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताउनुभयो ।

आयुक्त भण्डारीले उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराउनुभयो । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उहाँले त्यस्ता काम नगर्न आग्रह गर्नुभयो । घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरीत हुने उहाँको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर, कानुनी सजाय नपाउने गरी घरदैलो गर्न उहाँले उम्मेदवारहरूलाई आग्रह गर्नुभयो ।

आयुक्त भण्डारीले उम्मेदवारहरूले म राम्रो र अरू नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गर्नुभयो । उम्मेदवारहरूलाई आफ्नो घोषणापत्रअनुसार र आफूले गर्ने कामहरूको मात्रै प्रचारप्रसार गर्न उहाँको सुझाव छ । अरू दल र स्वतन्त्र उम्मेदवारहरू नराम्रो भनि प्रचार गर्न नपाइने उहाँले उल्लेख गर्नुभयो । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लङ्घन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फलानो नराम्रो र आफू राम्रो भनेर उहाँहरू प्रचारप्रसारमा जानुभएको छ । आफू राम्रो, अर्काको दलको र स्वतन्त्र उम्मेदवार नराम्रो भन्न पाइँदैन । आफू राम्रो मात्रै भनेर जानुस् न । म यो नीति तथा कार्यक्रम गरेर जान्छु, म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो, त्यो सबै स्पष्ट देखिने गरी जानुस् । मेरो घोषणापत्र ठिक, अर्काको बेठिक भन्न पाइँदैन । कानुनको परिधिभित्र बसेर चुनाव प्रचारप्रसार गरिदिनुपर्‍याे । यदि चुनाव प्रचारप्रसार गर्दा यो आचारसंहितालाई उल्लङ्घन गरिदिनुभयो भने आयोगले कठोरतापूर्वक कारबाही गर्नुपर्छ । उहाँहरूको मनोनयनपत्र खारेज पनि हुनसक्छ ।’

आयुक्त भण्डारीले आयोगले अहिलेसम्म दर्जनौँ उम्मेदवारलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिनुभयो । स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानुनी कारबाही अगाडि बढाइने र आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।