२०८२ असार ४ बुधबार

राशिफल

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

काठमाडौं : चितवन जिल्लामा रहेर फूल खेती गर्ने किसानले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिकरुपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरुपता ल्याउनका लागि फूल र मालाको मूल्य निर्धारण गरेका हुन् ।

कृषकले आज पत्रकार सम्मेलनको आयोजना गरी तिहारको तीन दिनका लागि सयपत्री फूलको माया प्रतिगोटा खुद्रा मूल्य रु ९० देखि १०० र होलसेल मूल्य रु ६० देखि ७० कायम गरिएको जानकारी दिएका छन् । तिहारपछिका लागि खुद्रा मूल्य रु ७० र होलसेल मूल्य रु ५० राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सयपत्री फूल प्रतिकिलो रु तीन सय ५० देखि चार सय कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ । भारतबाट आयात हुने मालाले नेपाली मालाको बजार विस्थापित गर्न खोजेको भन्दै किसनाले मालाको मूल्य निर्धारण गरेका हुन् ।

फ्लोरिकल्चर एशोसिएशन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले नेपाली मालाको मूल्य बढी हुँदा भारतीय मालाको आयात बढ्ने भएकाले मूल्य निर्धारण गर्न बाध्य भएको बताए । जिल्लालाई यही उत्पादित मालाले पुग्ने भन्दै उहाँले भारतीय मालाको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरे ।

जिल्लामा अहिले ४० देखि ५० बिघा क्षेत्रफलमा फूल खेती गरिएको सो अवसरमा जानकारी दिइएको थियो । फूलमाला फर्मका सञ्चालक गोविन्द बास्तोलाले तिहार लक्षित गरेर भारतीय माला नेपालमा आइसकेको जानकारी दिए । चितवनमा मात्रै एक ट्रक माला आएको र ठूलो मात्रामा माला आउन लागेको उनले बताए ।

उनले भने, “भारतीय माला नेपालका विभिन्न चिस्यान केन्द्रमा राखिएको छ । अब केही दिनमा बजारमा ल्याउने तयारी गरिँदै छ ।” यसको विरोधमा कृषकले तिहार सुरु भएलगत्तै स्थानीय प्रशासनको सहयोगमा त्यस्ता माला नष्ट गर्ने उनको दाबी थियो ।

भारतीय मालामा केमिकलको प्रयोग गरिएको हुने हुँदा बजारमा ल्याएको केही समयमानै कालो हुन थाल्ने उनको भनाइ थियो । मालामा सुतरीको प्रयोग गरिने र छिटो बिग्रने हुँदा मानिसको स्वास्थ्य र कपडामा समेत असर गर्ने उनले बताए । बास्तोलाले अहिले कालिका नगरपालिका वडा नम्बर २ मा २ बिघा क्षेत्रफलमा फूल खेती गरिरहेका छन् । पेशाले प्राध्यापक भए पनि उनले फूलमाला फार्म मार्फत पुष्पव्यवसाय गर्दै आएका हुन् ।