२०८२ असार ४ बुधबार

राशिफल

कमला नदीबाट बर्खायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ

काठमाडौं : खेतमा सि‌ँचाइको सुविधा पुगेपछि धनुषा, सिरहा महोत्तरी र सप्तरीका किसान दङ्ग परेका छन् ।

पहिले आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले यस पटक भने सिँचाइ सुविधा पाएका छन् । कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइ नहर प्रणालीअन्तर्गत सिँचाइ सुविधा पुर्‍याएंपछि धानबाली लगाउने बेलामा समस्या भोग्दै आएका किसानलाई राहत मिलेको छ ।

पहिले धानखेतीका लागि वैकल्पिक सिँचाइको भर पर्नुपर्ने समस्या भोग्दै आएका सिरहाको औरहीका किसानलाई पनि यस पटक भने पानीको कुनै समस्या भएन ।

गएका वर्षहरूमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका धेरैजसो खेतीयोग्य जग्गा बाँझो रहने समस्या समाधान गर्न कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला नदीबाट सिँचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरेपछि किसानको खेत–खेतमा पानी पुगेको हो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७८र७९ मा धनुषा र सिरहातर्फ झन्डै छ किलोमिटर पक्की नहर निर्माण भएको छ । यो अवधिमा पानी निकास र नियन्त्रणका लागि ५३ वटा पानी निकास गेट र ३५ वटा भीआरबी निर्माण गरिएको कार्यालयका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

यस्तै यो अवधिमा धनुषा, सिरहा महोत्तरी र सप्तरीमा गरी चार जिल्लामा ३३ वटा डीप ट्युबेल जडानसँगै ५४ वटा डीप ट्युबेलमा पम्प हाउस तथा स्टोरेज ट्र्याकसमेत निर्माण गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

कमला सिँचाइ पश्चिमी नहर प्रणाली, पूर्वी नहर प्रणाली र हर्दिनाथ नहर प्रणालीमार्फत वर्षायाममा २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुँदै आएको छ ।