२०८२ जेठ २१ मङ्गलबार

राशिफल

खुल्यो जुम्लाकाे नाग्म – गमगडि राजमार्ग

काठमाडौं : कर्णाली राजमार्गको नाग्म – गमगडि राजमार्ग खुलेको छ । बाढीरपहिरोले अवरुद्ध भएको नाग्म – गमगडि राजमार्ग पहिरो पन्छाएपछि खुलेको हो ।

सडक डिभिजन कार्यालय जुम्लाले नाग्म – गमगडि राजमार्ग खुलाइएको जानकारी दिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख राजिव श्रेष्ठका अनुसार ९३ किलोमिटरको राजमार्ग १५ दिनको काम पछि खुलाइएको हो ।

नाग्म – गमगडि राजमार्गको हिमा गाउँपालिकामा सबैभन्दा बढी पहिरो गएको थियो । सव–इन्जिनियर गणेश भक्रीका अनुसार हिमा गाउँपालिकाको बाजागादेखि भूगोलपाटसम्म मात्रै करिब ८ किलोमिटर लामो पहिरो गएको थियो । पहिरो पन्छाएपछि सड्क खुलेको छ । उहाँका अनुसार नाग्म गमगडि राजमार्गको ९३ किलोमिटरमा एक सय ५० ठाउँको पहिरो पन्छाइएको छ ।

हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी तथा ताल्चामा खसेको कठिन पहिरो पनि पन्छाइएको हो ।

पहिरो पन्छाएको करिब १५ दिनपछि मोटरसाइकल गुडेको छ भने साँघुरो ठाउँमा तत्कालका लागि जाली हालेर गाडी गुडाउने तयारी भइरहेको छ ।

कर्णाली राजमार्गको जुम्ला नाग्म खण्ड र नाग्म – गमगडि राजमार्ग पहिरो पन्छाएर खोलेपछि आन्तरिक यातायात सुचारु भएको छ । जुम्ला बजार देखी नाग्म र सिंजा क्षेत्रमा सडक खुलेपछि यातायात सुचारु हुने भएको छ । आन्तरिक यातायात सुचारु भएपछि बिरामी सजिलै अस्पताल आउन सक्ने भएका छन् ।

पहिरो पन्छाए पनि धेरै ठाउँमा अझै पहिरोको जोखिम रहेको छ । नाग्म – गमगडि राजमार्गलाई विशेष प्याकेज बनाएर सडक पुनस् निर्माणको बजेट विनियोजन गर्न आवश्यक रहेको स्थानीय सरकारको माग छ ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार धेरै स्थानमा सडक क्षति भएकाले स्वरुप नै बदलिएको छ । गुणस्तरीय र दिगो सडकका लागि सरकारले नाग्म – गमगडि रमाजमार्गलाई प्रथामिकता दिन आवश्यक रहेको छ । ।