काठमाडौं : सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले सोलुखुम्बुको विकास र समृद्धिका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।
सोलुखुम्बुमा आयोजित वृहत चुनावी कार्यक्रममा बोल्दै उनले आफू ४०/४५ वर्षदेखि सोलुको विकास र समृद्धिका लागि काम गर्दै आएको बताए । अबको निर्वाचनमा आफू निर्वाचित हुने र यसपछि सोलुको सडक निर्माणसहितका काम गर्ने वाचा गरेका उनले सामाजिक एकता, विकास र समृद्धि गर्ने उम्मेदवारलाई मत दिनुपर्ने र यसका लागि आफू योग्य रहेको बताए ।
सामाजिक एकता विथोल्ने षड्यन्त्र भइरहेकोप्रति सचेत गराएका उनले आफूलाई केन्द्रीय तहसम्म सजिलै पहुँच राख्ने भएकाले सोलुखुम्बुको विकासका लागि योजना ल्याउन सकिने दाबी गरे । ६ पटक चुनावी प्रतिस्पर्धामा चारपटक निर्वाचित भएको र दुईपटक पराजित भएको स्मरण गराउँदै नेता केसीले आफू निर्वाचित हुँदा सोलुको विकास भएको दाबी गरे ।
विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धीको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका उनले संविधान र गणतन्त्र नै जोखिममा परेपछि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलहरुको गठबन्धन बनेको बताए । संविधान र गणतन्त्रको रक्षाका लागि आगामी ४ मंसिरको निर्वाचनमा गठन्बन्धनका उम्मेदवारलाई मत दिएर जिताउन उनले सबैमा आग्रह गरे ।
तपाइँको प्रतिक्रीया