२०८२ असार १ आइतबार

राशिफल

अबकाे विकास कर्णाली र सुदूरपश्चिममा हुन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले कर्णालीको विकासमा प्राथमिकता दिने बताउनुभएको छ ।

सत्तारूढ गठबन्धनको सभालाई सम्बोधन गर्न आज मङ्गलवार जुम्ला पुग्नुभएका अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताउनुभयो । उहाँले सिञ्जा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले सरकारले सिञ्जासम्बन्धी प्रतिष्ठान बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सम्बोधनकै क्रममा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन देशलाई अँध्यारोबाट बचाउन आवश्यक भएको जिकिर गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको सरकार बचाउन नसकेको र पार्टी विभाजन गर्ने काम गरेकाले एमालेलाई नागरिकसँग मत माग्न सक्ने अधिकार नभएको दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले राप्रपाबाट जुम्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई व्यङ्ग्य गर्दै राजतन्त्रका प्रेत आत्माहरू जुम्लामा पनि चिच्याइरहेकाले सामन्तवादीहरूलाई नागरिकले शून्य बनाएर छोडिदिने जिकिर गर्नुभयो ।