काठमाण्डाै : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने जिकिर गर्नुभएकाे छ । आफू सांसद भएमात्रै कांग्रेसभित्र संसदीय दलको चुनावमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उहाँको भनाइ थियो ।
पार्टीको काभ्रे–काठमाण्डाै सम्पर्क समन्वय समितिले आज मङ्गलवार आफ्नै निर्वाचन क्षेत्र नम्बर काठमाण्डाै–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफूले चुनाव जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको चुनाव हुने र मतदाताले चाहेअनुसारको नेतृत्व परिवर्तन हुने बताउनुभएकाे हाे । त्यसका लागि काठमाण्डाै–४ का अगुवाले आफूलाई जिताउनका लागि बाँकी समय लागिदिनुपर्ने उहाँकाे भनाइ थियाे ।
महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा चुनावमा प्रतिस्पर्धा गर्ने पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले आफूलाई सांसदमा निर्वाचित गराएर पठाए १० वर्षमा देशको राजनीतिलाई पूरै सुधार गर्ने जिकिर पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘ठूलो सङ्ख्यामा मतदाताले काठमाण्डाैमा राजनीतिक नेतृत्वको बदलाव खोजिरहनुभएको छ । चुनाव पछाडि कुनै पनि ठूलो राजनीतिक दलको संसदीय दलको चुनाव हुनेवाला छैन । भयो भने कांग्रेसमा हुन्छ । क्षेत्र नम्बर ४ बाट चुनावमा उठ्ने मान्छेलाई तपाईँहरूले जिताएर पठाइ दिनुभयो भने बल्ल चुनाव हुन्छ । नभए त्यहाँ पनि हुँदैन । सबैलाई देशमा ठूलो परिवर्तन चाहिएको छ । राजनीतिक नेतृत्व परिवर्तन गर्ने भनेको कि पार्टीको महाधिवेशन हो कि त्यही संसदीय दल हो । तपाईँहरू मलाई जिताइदिनुस्, म तपाईँहरूलाई १० वर्षमा सुध्रेको राजनीति दिनेछु ।’
महामन्त्री थापाले अबको चुनावपछि पनि सांसदले मतदाताको प्रतिष्ठा राख्ने काम नगरे देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने चेतावनीसमेत दिनुभयो । जनप्रतिनिधिले अब पनि चुनावमा मतदातासँग गरेकाे वाचाअनुसार काम नगरे उनीहरूले फेरि चुनावमा उठ्न नपाउने पनि उहाँले जिकिर गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै महामन्त्री थापाले सत्तारूढ गठबन्धनले चुनावमा बहुमत ल्याउने दाबी पनि गर्नुभयाे । चुनाव जितेपछि पाँच वर्षसम्म एकताबद्ध भएर नागरिककाे भावनाअनुसार काम गर्न प्रतिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।
महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरूलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र देश बरबाद हुने बताउनुभयो ।
तपाइँको प्रतिक्रीया