२०८२ असार १ आइतबार

राशिफल

नागढुंगा सुरुङमार्ग निर्माणको काम ६७ प्रतिशतभन्दा बढी सकियो

२ हजार ६ सय ८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङको १ हजार ६ सय ४२ मिटर खनिसकिएको छ भने २ हजार ५ सय ५७ मिटरको सहायक सुरुङ १ हजार ८ सय ६० मिटर खनिएको छ ।  मुख्य सुरुङ पूर्वबाट ७ सय ९५ दशमलव ६० मिटर र पश्चिमबाट ८ सय ४६ दशमलव ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।

त्यस्तै, सहायक सुरुङ पूर्वबाट एक हजार मिटर र पश्चिमबाट ८ सय ६० मिटर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । १ सय २८ मिटर खन्नुपर्ने क्रस प्यासेज पूर्वतर्फबाट ३८ दशमलव १० र पश्चिमतर्फ ३६ दशमलव १० गरी ७४ दशमलव २० मिटर खनिएको छ ।

आयोजनाका अनुसार, १ सय २६ मिटर वर्किङ अडिटको काम सम्पन्न भइसकेको छ । सुरुङमा कंक्रिट लाइनिङको कार्य २९ दशमलव ७० प्रतिशत सम्पन्न भइसकेको छ । सुरुङबाहेकका तीनवटै अण्डर पास सम्पन्न भएको छ भने चारवटा बक्स कल्भर्ट, एउटा ओभर पास र तीनवटा पुल निर्माण कार्य सम्पन्न भएको छ ।

त्यसैगरी एउटा फ्लाइ ओभर निर्माणाधीन छ । सुरुङमार्गका सम्पूर्ण संरचनासहित समग्र भौतिक प्रगति भने ४५ प्रतिशत मात्र रहेको र वित्तिय प्रगति ४८ दशमलव ८३ रहेको आयोजनाले जनाएको छ । २ कात्तिक २०७६ मा नागढुंगादेखि धादिङको सिस्ने खोलासम्म जोड्ने सुरुङमार्गको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

२०७६ असोजमा हाज्मा एन्डो कर्पोरेसनसँग ४२ महिनामा निर्माण पूरा गर्नेगरी सम्झौता भएको उक्त आयोजनाको म्याद लकडाउनका कारण ८६ दिन थप गरिएको थियो । निर्माण कम्पनीले ४१६ दिन म्याद थप प्रस्ताव गरे पनि कार्यालयले लकडाउन अवधिमा काम हुन नसकेको दिन हिसाब गरेर म्याद थपेको हो ।

कुल २२ अर्ब लागतको यो सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब ऋण सहयोग गरेको छ भने ६ अर्ब नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च हुनेछ । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य द्वारमा यात्रुले भोग्नुपरेको ट्राफिक जामको सास्ती कम हुने विश्वास गरिएको छ ।