२०८२ जेठ २२ बुधबार

राशिफल

बेलायतका मन्त्रीले ताइवान भ्रमण गरेपछि चीनको आपत्ति

काठमाडौं :  बेलायतका व्यापार नीति मन्त्री ग्रेग ह्यान्ड्सले ताइवान भ्रमण गरेपछि चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई बेवास्ता गरी ताइवान पुग्ने मन्त्री ग्रेग पछिल्लो विदेशी हुनुहुन्छ ।

चीनको सार्वभौमसत्तालाई बेलायतले सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा बेइजिङको जोड छ । ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न पनि चीनले आग्रह गर्दैै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको समाचार संस्था एपीले जनाएको छ ।

बेलायतका मन्त्री ग्रेगले दुईदिने भ्रमणका क्रममा ताइवानका राष्ट्रपति साई इङ–वेनलाई भेट्नुभएको थियो । बेलायत र ताइवानबीचको २५औँ वार्षिक व्यापार वार्ताका सिलसिलामा उहाँ ताइपेइ पुग्नुभएको थियो ।