काठमाडौं : मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का लागि नेपाली कांग्रेसले आज मनोनयन दर्ता गराउँदै छ । नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निमोनियाको कारण निधन भएपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
जिल्ला निर्वाचन कार्यालयले आज उम्मेदवारी दर्ता हुने र त्यसमा दावी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।
मनोनयन दर्ताको लागि आज बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि १ बजेदेखि २ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, २ बजेदेखि ५ बजेसम्म उम्मेदवारीविरुद्ध उजुरी दर्ताको समय तोकिएको छ ।
उम्मेदवारको योग्यतामाथि जाँचबुझका लागि कात्तिक २५ गतेदेखि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ । नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने काम पनि कात्तिक २५ गते शुक्रबार नै हुनेछ ।
निर्वाचन तालिका हेरफेर भए पनि मतदान भने मंसिर ४ गते नै हुनेछ । मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाश गर्नेसम्मको समय पर्याप्त भएकाले मतदानको मिति हेरफेर नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
तपाइँको प्रतिक्रीया