काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन वटा चुनाव जितिसकेका उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिएका छन् । गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका १० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर घरदैलो कार्यक्रम सुरु गरेका उनले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताको माया पाइरहेको र फेरि पनि पाउने विश्वास व्यक्त गरे ।
उनले काठमाडौं क्षेत्र नम्बर १ मा विकास गरेको दाबीसमेत गरे । व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको भन्दै उनले ज्येष्ठ नागरिकको सुविधाका लागि एउटा सुविधासम्पन्न भवन बनिरहेको जानकारी पनि दिए ।
खानेपानीको समस्या समाधानका लागि आफूले पहल गरिरहेको उनले बताए । युवालाई र अनुभवीको टिमसहित चुनावमा होमिएको बताउँदै उनले फेरि पनि चुनाव जित्ने दाबी प्रस्तुत गरे ।
त्यसअघि गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताएका थिए ।
तपाइँको प्रतिक्रीया