२०८२ जेठ ३१ शुक्रबार

राशिफल

काम अलपत्र पार्ने ठेकेदारको मेसिनमा लगाइएको ताला खोलियो

काठमाडौं  :  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण व्यवसायीको मेसिनमा लगाएको ताला खोलिदिएको छ । नगरपालिकाले दिक्तेलबजारस्थित अस्पतालचोक–लफ्याङको दुबेछिवा (३.७ किलोमिटर) सडक स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुचु–बगाले–बिएण्डटी जेभीले निर्माणस्थलबाट अन्यत्र लैजान लागेको अवस्थामा गत कात्तिक २० गते एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरलाई साङ्लोले बाँधेर ताला लगाएर रोकेको थियो ।

ढुकुचु–बगाले–बिएण्डटी जेभीका प्रतिनिधि मोहन श्रेष्ठ, र कुमार भण्डारीले शुक्रबार नगरपालिकामै आएर सडक स्तरोन्नतीको अवरुद्ध काम तत्काल सुचारु गर्ने र बाँकी रहेको समयभित्रै काम सम्पन्न गर्ने लिखित कबुलियतनामा गरेपछि शनिबार मेसिनको ताला खोलिदिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

 

निर्माण व्यवसायीले हालसम्मको सडक स्तरोन्नतीको कार्य प्रगती विवरण र मासिक कार्ययोजना पेश गर्दै समयमै काम सम्पन्न गर्ने, काम नगरे कानून बमोजिम कारबाही भोग्नेगरी कबुलितनामा गरेका छन् । कबुलियतनामापछि मेयर बिसन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई र प्रवक्ता घिमिरेले मेसिनमा लागेको ताल्चा र फलामे साङ्लो खोलिदिएका हुन् । काल अलपत्र छाडेर लफ्याङस्थित निर्माणस्थलमा भएका मेसिनरी सामान क्रमशः अन्यत्र लगिरहेको अवस्थामा नगरपालिकाले एक्स्काभेटर र व्याकहो लोडरलाई अन्यत्र लैजान रोक लगाएको थियो ।

ढुकुचु–बगाले–बिएण्डटी जेभीले भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेछिवा सडक ग्राभेल गर्ने ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी सडक डिभिजन कार्यालय, हर्कपुर, ओखलढुंगासँग २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो । तर बाँकी रहेको करिब दुई महिनाभित्र द्रुततर गतिमा काम गर्दा समेत योजना सम्पन्न गर्न कठिन हुने देखिएको छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको निर्माण व्यवसायी भण्डारीले दावी गरे ।

ढुकुचु–बगाले–बिएण्डटी जेभीले कटिङ, नाली तथा खाल्डाखुल्डी पुर्ने काम तत्काल सुरु गर्ने र बाँकी कामलाई चुनावपछि तिव्रता दिने कबुलियतनामा गरेको छ । निरन्तर काम गर्दागर्दै प्राविधिक कारणले तोकिएको समय अवधिभित्र काम सम्पन्न हुन नसके दोहोरो समझदारीमा अर्को निर्णय गरिने मेयर तीर्थराज भट्टराईले बताए ।

यस्तै, अस्पतालचोक–साप्सु खोला सडक अन्तरगत दुबेछिवा–साप्सुखोला (४ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काममा पनि सगरमाथा सजिव आरएन जेभीको ढिलासुस्ती भइरहेको छ ।