२०८२ असार ४ बुधबार

राशिफल

मतदानका लागि तोकिएको नियमित समय सकियो, तर केही स्थानमा भने मतदान चल्दै

काठमाडौं :  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत मतदानका लागि तोकिएको नियमित समय समाप्त भएको छ । आयोगले आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान समय तोकेको थियो । तर ५ बज्नुअघि मतदान केन्द्र परिसरमा प्रवेश गरिसकेकाहरूले भने पाँच बजेपछि पनि मतदान गर्न पाउने आयोगले जनाएको छ ।

यस्तै केही मतदान केन्द्रहरूमा विवाद भएका कारण रोकिएको मतदान फेरि सुरु हुँदा केही घण्टाका लागि समय थप्न पाउने व्यवस्थाअनुसार समय थप भएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरमा रहेको पातु वनगाउँ मतदान केन्द्रमा बेलुका ७ बजेसम्मै मतदानको समय तोकिएको छ । दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका ठाउँमा मतदान रोकिएको छ । ती ठाउँमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै मतदान सम्पन्न भएका ठाउँबाट मतपेटिका सङ्कलनको काम चलिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो । दुर्गम क्षेत्रका जिल्लामा भने मतपेटिका सङ्कलन गर्न समय लाग्ने भएकाले भोलि सोमवारदेखि मात्रै मतदान गर्ने तयारी आयोगले गरेको छ । दुर्गम ठाउँका मतदान केन्द्रबाट हेलिकोप्टरमार्फत मतपेटिका सङ्कलनको व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।