२०८२ असार ३ मङ्गलबार

राशिफल

निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष चुनावको अन्तिम प्रतिवेदन पेस गर्ने

काठमाण्डौ  :  निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारीसमक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो ।

चुनाव–२०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरणसहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस २ गते प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन प्रस्तुत गर्नेछन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रो हप्ता मात्रै सकिएकाले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

आयोगको अन्तिम परिणामअनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० जना प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ १८४ जना पुरुष निर्वाचित भएका छन् । प्रदेश सभातर्फ ३ सय ५० जना पुरुष निर्वाचित भएका छन् । प्रतिनिधि सभामा ९१ जना महिला र प्रदेश सभामा दुई सय जना महिला निर्वाचित भएका छन् ।