काठमाण्डौ : विमान परिचारिका अर्थात् ‘क्याबिन क्रु’ को आन्दोलनका कारण रोकिएको नेपाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को नियमित उडान सुरु भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बुधवार र बिहीवार उडान रोकिएको थियो ।
निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच हिजो दिनभर छलफल गरेर सहमति भएसँगै बेलुकादेखि उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थियो भने हिजो बिहानैदेखि निगमको कुनै पनि उडान भएको थिएन । सहमतिपछि उडान नियमित सञ्चालन भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । गएराति भारतको नयाँ दिल्ली र साउदी अरेबियाको रियादका लागि उडान गरिएको छ ।
निगममा कार्यरत सबै क्याबिन क्रुको करार नवीकरण गर्ने सहमतिपछि उनीहरु काममा फर्किएका हुन् ।
तपाइँको प्रतिक्रीया