काठमाण्डौ : प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।
जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको छ ।
प्रतिनिधि सभामा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट निर्वाचित १ सय १० जना गरी कुल २ सय ७५ सदस्य रहेका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार कुल सदस्यमध्ये अहिलेसम्म मातृभाषामा शपथ लिन चाहने सदस्यको सङ्ख्या २६ जना रहेको छ ।
मातृभाषामा शपथ लिन चाहने सांसदलाई जानकारीका लागि आज बिहान ११ बजेसम्मको समय दिइएको छ । प्रतिनिधि सभाको सभामुख र उप सभामुख चयन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।
शपथसँगै सदस्यहरूको औपचारिक रूपमा कार्यकाल आजदेखि नै सुरु हुनेछ । शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो । सङ्घीय संसद्को प्रतिनिधि सभामा तीन महिनादेखिको जनप्रतिनिधिको रिक्तता पनि अन्त्य भएको छ ।
तपाइँको प्रतिक्रीया