काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न दिएको एक हप्ताको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले गएको ३ गते दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा दिनुभएको थियो । राष्ट्रपतिले दिएको समयसीमा घर्किनै लाग्दा पनि दलहरुबीच सहमति जुट्न सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पटक पटक छलफल र वार्ता भए पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी छ । गठबन्धन दलहरुबीच आज फेरि छलफल गर्ने तयारी छ । यसअघिका छलफलमा नेताहरु टसमस नभएपछि आज बिहान १० बजे पुनः बैठक बोलाइएको छ । हिजो र अस्ति लगातार छलफल भए पनि शीर्ष नेताहरूबीच सहमति हुन सकेन ।
सरकारको नेतृत्वसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायतका पदमा जिम्मेवारी बाँडफाँटको विषयमा छलफल केन्द्रित छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूबीच सहमतिको खाका निर्माण गर्ने गरी छलफल भइरहेको बताउनुभएको छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले ठूलो दलको हैसियतले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान लिनुभएको छ भने प्रचण्डले आफूलाई प्रधानमन्त्री नछाडे गठबन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ । गठबन्धनबाट नभए एमालेसँग मिलेर भए पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको तयारी छ ।
चुनावमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले सरकार गठन प्रयोजनका लागि प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर समेत सङ्कलन गरेको छ । आज सहमति नभए ठूलो दलको नेताका रुपमा प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस सभापति देउवाको रणनीति छ । तर सहमति जुट्न नसकेमा एमालेसँग आजै निर्णायक वार्ता गर्ने प्रचण्डको तयारी छ ।
तपाइँको प्रतिक्रीया