२०८२ असार ३ मङ्गलबार

राशिफल

जसपाले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि निर्णय गर्ने

काठमाण्डौ  :   ‘पर्ख र हेर’को रणनीति लिएको जनता समाजवादी पार्टी जसपा नेपालले सरकारमा जाने या नजानेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि जसपाले सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन । आउँदो १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा यसबारेमा छलफल हुने जसपाको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । जसपाले अहिलेसम्म पार्टीको संसदीय दलको नेता समेत चयन गरेको छैन ।

प्रतिनिधि सभामा जसपाको १२ सिट रहेको छ । प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जसपासहित ७ दल र तीन स्वतन्त्र सासंदको समर्थन रहेको छ । नयाँ गठबन्धनमा रहेका दलमध्ये एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।

त्यस्तै तीन जना स्वतन्त्र सांसदले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका छन् । सरकारलाई समर्थन गरेका ७ मध्ये ३ दल जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा सहभागी छैनन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सरकारमै सहभागी भएका छन् । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बन्नुभएको छ । एमाले उपाध्यक्षसमेत रहेका पौडेलले अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।