काठमाण्डौ : आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसारु पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो ।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । आज गुरुङ समुदायले काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दै छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभुषामा सजिएर सहभागी हुनेछन् भने गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले गुरुङ समुदायको पर्व तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत देश निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुसरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
तपाइँको प्रतिक्रीया