२०८२ जेठ २० सोमबार

राशिफल

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ  :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।

खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन ९ देखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाई छ ।

मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगञ्ज उपमहानगरपालिकामा सङ्क्रमण फैलिएको छ । नेपालगञ्जमा ९० जनालाई दादुरा पुष्टि भइसकेको छ भने एक जनाको ज्यान गएको छ । सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ ।

सरकारले दुई वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादुरा रुवेलाविरुद्धको खोप निःशुल्क दिने गरेको छ ।